फिचर | खुला |

कारागार कार्यालय काभ्रेमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी

केदार तिमल्सिना
बनेपा, पुस २१ गते । असी जना कैदीबन्दीको क्षमता रहेको धुलिखेलमा रहेको कारागार कार्यालय काभ्रेमा हाल क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागार कार्यालय काभ्रेमा अहिले दुई सय ३९ जना कैदीबन्दीहरुलाई राखिएको छ । कारागारमा सोमबारसम्म कर्तव्य ज्यानमा थुनुवा दश, कैदी ३८ गरि कूल ४८ जना, डाँकामा १२ थुनुवा, पाँच कैदी गरि कूल १७ जना, जर्वजस्ती करणीमा ३४ थुनुवा, ५० कैदी गरि ८४, ज्यान मार्ने उद्योगमा तीन थुनुवा, लागु औषधमा दुई थुनुवा, १२ कैदी गरी १४ जना रहेका छन् ।

यस्तै चोरी मुद्धाका चार थुनुवा, ७ कैदी गरि ११ जना, सवारी ज्यान-अङ्गभङ्गमा १४ थुनुवा, दुई कैदी गरी १६ जना, केहि सार्वजनिक अपराधमा चार थुनुवा, मानव अपहरण तथा शरीर बन्धक तीन थुनुवा, दुई कैदी गरी कुल पाँच जना, सरकारी छाप किर्ते÷वैदेशिक ठगीमा पाँच जना थुनुवा, एक कैदी गरी कुल छ जना, मानव बेचबिखन- जीउ मास्ने बेच्नेमा कैदी चार जना, बहुविवाहमा तीन थुनुवा, एक कैदी गरी चार जना, हातहतियार तथा खरखजनामा एक थुनुवा रहेको जेलर गायत्री अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै लेनदेन बिगोमा तीन कैदी, अप्राकृतिक बाल यौन दुराचारमा दुई थुनुवा, तीन कैदी गरी पाँच जना, बैङकिङ कसुर ऐनमा सात कैदी, जर्वजस्ती करणी उद्योगमा दुई थुनुवा, छ कैदी गरी कुल आठ जना रहेका छन् । कुल थुनुवा र कैदीमध्ये १९ जना मानसिक रोगी रहेको जेलर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कारागारमा थुनुवा ९८ जना र कैदी १ सय ४१ जना गरी कुल दुई सय ३९ जना रहेका छन् ।

सरकारले हरेक वर्षको बडा दशैँ, संविधान दिवस र गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत वा सो भन्दा बढी कैद भुक्तान गरिसकेका र राम्रो चालचलन भएका कैदीबन्दीलाई कारागारको सिफारिसमा छोड्ने प्रचलन रहेको छ । क्षमता भन्दा दोब्बर कैदीबन्दीका कारण कारागारमा रहेका कैदीबन्दीलाई बस्नको लागि समस्या भएको कार्यालयले जनाएको छ ।

राणाकालमा घोडा बाँध्ने (तबेला) ठाउँलाई कैदीबन्दीलाई राख्नका लागि वि.सं. २०२१ सालदेखि कारागारको रुपमा विकास गरि कारागार कार्यालयको रुपमा अघि बढाइएको थियो । तीन रोपनी ८ आना तीन दाम क्षेत्रफल रहेको कारागारको दुई रोपनी सात आना तीन दाममा कैदीबन्दी राख्ने भवन तथा पर्खाल रहेको छ ।