फिचर | पढ्नै पर्ने |

चिसो बढेपछि मध्य तराईको जनजीवन कष्टकर

कृष्ण तिवारी / जिवछ यादव
रौतहट, पुष २७ गते । विगत केही दिनदेखि जारी शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि रौतहटसहित मध्य तराईका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।
बाक्लो मात्रामा हुस्सु लागेर चिसो हावासमेत चल्न थालेपछि मध्य तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।
शीतलहरसँगै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालकहरु पनि प्रभावित भएका छन् ।

विगत दुई दिनदेखि दिनमा तथा रातमा बाक्लो शीतलहर चलेका कारण जनजीवन झनै कष्ठकर बनेको छ । चिसोका कारण बजारमा किनमेल गर्ने सर्वसाधारणको संख्या घटेको छ भने चौक चौतारो, बाटोघाटो र सार्वजनिक स्थलमा आगो ताप्नेहरुको संख्या बढेको छ ।

चिसोका कारण स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप पनि बढेको छ । अत्याधिक चिसोका कारण रौतहटका स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्यामा लगातार वृद्धि हुँदै गएको छ ।
चिसोका कारण जिल्लाको सदरकमुकाम गौरका साथै गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, समनपुर लगाएतका शहरका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाका बिरामीको सङख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । जाडो तथा शीतलहरका कारण बालबालिकामा निमोनिया रोग बढी देखा परेको छ भने वृद्धबृद्धामा दमको रोग बढ्दै गएको चिकित्सकहरुको भनाई छ ।

गरीब दलितलाई शीतलहरको साहारा परालको आगो

केहि दिन यता फेरि चलेको शतिलहरबाट लुगा कपडाको अभावमा परालको आगो बालेको (घुरा) तापेर शतिलहरबाट जोगिनु गरीब मुसहर समुदायहरुले पीडा पोखेका छन् । लहान–१ मुसहर समुदायका गर्भु सदाय भन्नुहुन्छ,हामी गरीब दलितलाई वर्षाको वेला लहानको नहरको किनारमा रहेको बस्तीमा बाढीको पानी पसेर घरविहिन हुनुपर्ने विपत्ति प्रत्येक वर्ष आँउछ भने जाडो महिनामा लुगाको अभावमा शीतलहरले सतउने गर्छ । वर्षमा दुई पटक विजोग हुनुपर्ने नियति हामी मुसहर समुदाय भोगदै आइरहेका छौ ।

शीतलहर चल्न सुरु भएपछि मजदुरी गर्न पनि पाउदैनौ, मजदुरी नगर्दा घरमा बालबालिका के खाने ठूलो पीर हुन्छ, शीतलहरमा परालको आगो तापेर समय बिताउनु बाध्यता भएको अर्का स्थानीय मुसहर समुदायका गेना सदाको पीडा छ ।

लहान–१४ गुदीँगाँउका दलित पासवान वस्तीका के महिला के पुरुष नजिकै रहेको खुटी खोलामा गिटी वालुवा चालेन भने दैनिक गुजारा नै नचल्ने स्थानीय नथुनी पासवानले सुनाउदै शीतलहरको वेला परालकाे आगो ताप्दै आफनो गिटी वालुवा संकलन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

महिला अधिकारकर्मी रेणु कर्णका अनुसार लक्षित गरीव दलित बस्तीहरुमा प्रत्येक वर्ष बाढी पस्ने र लुगाको अभावमा शीतलहर छल्ने समस्यालाई दीर्घकालीन रुपमा सामाधान गर्न स्थानीय र प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।

सिरहा जिल्लाको १७ वटै स्थानीय तहमा रहेको गरिब दलितहरुलाई शीतलहरको समयमा होस वा प्राकृतिक विपत्ति आउने कुनै पनि समस्याको लागि स्थानीयतहरु पूर्व तयारी गर्नुपर्ने आवश्यक्ता देखियो । यसको लागि जिल्ला समन्वय समिति सिरहाले पहलकदमी समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले विश्वास दिलाउनुभयो ।

प्रत्येक वर्ष शीतलहरको समयमा आफनो वडामा रहेको दुई सय गरीव दलितलाई  गतवर्ष पनि मोटो सिरक वितरण गरेका थिए । यसवर्ष पनि सिरक खरीद गरेर वितरणको लागि तयारी भइरहेको सुखीपुर नगरपालिका–४ का वडाध्यक्ष राम लोभित यादवले जानकारी दिनुभयो ।

यता लहान नगरपालिकाले बढ्दो शीतलहरलाई ध्यानमा राखेर दाउरा वितरण र न्यायनो लुगा वितरण गर्ने नगरपालिकाको प्रवक्ता राजकुमार साहले जानकारी दिनुभयो ।