फिचर | पढ्नै पर्ने | फोटो फिचर |

बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाईमा पर्दै (फोटो फिचर)

अमरराज नहर्की
बन्दीपुर, माघ २२ गते । तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको भीड बढेको छ । बन्दीपुरको पाराग्याइडिङ पर्यटकको रोजाईमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरमा आन्तरिक पर्यटकहरु बढ्दै गएको र प्याराग्याइडिङमा रमाउनेको सङ्ख्या पनि वृद्धि हुन पुगेको अध्यक्ष प्रधान बताउनुहुन्छ । शाहसिक पर्यटकको लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुरकै वडा नम्बर २ को भुमर्सेमा अवतरण गर्ने सुविधा रहेको छ ।
हाल दैनिक करिब ५० जना पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको समितिले जनाएको छ । समितिका अनुसार पोखराको ब्लु स्काई, बन्दीपुर प्याराग्लाइडिङ लगायतका ४ वटा कम्पनीले पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् । पोखराको ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको समितिले जनाएको छ । ती कम्पनीहरुले तीन वर्ष अघि देखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका पूर्व अध्यक्ष बैस गुरुङले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मन लगायतका पर्यटक आउने गरेकोमा कोरोना भाईरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेको गुरुङ बताउनुहुन्छ । शोलुखुम्बुबाट आई बन्दीपुरबाट प्याराग्लाईडिङ गर्नु भएको तेम्बा शेर्पा चार पटक सम्म प्याराग्लाईडिङमा रमाएको जानकारी दिनुभयो । ‘‘एक नाशको हावा आईरहने भएकोले लामो समय सम्म आकाश बस्न सकिन्छ साथै प्राकृति दृश्यहरु रमणीय भएकाले प्याराग्लाइडिङको लागि उपयुक्त छ’’ शेर्पाले भन्नुभयो ।
बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाँडाकाडा सुन्दरबस्ती, टार, नदी खोलाका साथै अन्य रमणीय स्थलहरु देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षण बढेको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोवर्धन भट्टराई बताउनुुहुन्छ । प्याराग्लाइडिङको आर्कषण बढाउने थानीमाई जाने सडकको स्तर उन्नति गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउनुहुन्छ । प्याराग्लाइडिङ स्थलसँगै मिनि ग्रेटवाल निर्माण भईरहेको र साईकल लेन निमार्ण कार्य पुरा भएको गाउँपालिकाका अध्यक्ष थापाको भनाइ छ ।