फिचर | पढ्नै पर्ने | फोटो फिचर |

हुम्लाकाे तापक्रम माइनस आठ डिग्री, जनजीवन कष्टकर

राजन रावत
हुम्ला माघ २३ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ । शुक्रबार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो । हिमपात हुँदा चिसो अत्यधिक बढेको छ भने दिउँसो तापक्रम माइनसमा झरेको छ ।
बिहानैबाट हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताउनुभयो । जमिनमा आधा फिटभन्दाि बढी हिउँ जमेको छ भने हिउँ पर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । बिशेष गरि नाम्खा गाउँपालिकाका अग्ला र उच्च स्थानमा दुई फिटसम्म हिउँ परेको छ । बाक्लो कुहिरो पनि लागेको कारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न कठिन भएको हो । हिमपातसँगै उत्तरी हुम्लामा तापक्रम दिउँसै माइनस आठ डिग्रीमा झरेको छ । चिसो अत्यधिक बढेपछि मानिस बाक्ला र उनीका कपडा लगाएर शरीरलाई न्यानो बनाउने कोशिष गरिरहनु एको छ । हिमपातले गर्दा पशुबस्तु गोठ बाहिर निकाल्न कठिन भएकोले गोठमै घाँस हालेर थनिएका छन् । मानिसको बाहिर आउजाउ पनि निक्कै पातलो  छ । कार्यालयमा सेवाग्राही नआएपछि कर्मचारी आगो तथा हिटर तापेर कुर्ने गरेको दृश्य जताततै देखिन्छ । बजारमा ब्यापारीहरु पसल अगाडि आगो तापेर कुरिरहनुभएको छ । सडक सेताम्मे भएको कारण आन्तरिक रुपमा सञ्चालन हुदै आएका यातायात सेवा पनि बन्द रहेको छ । यस वर्षको यो तेस्रो हिमपात हो । यसअघि गता कात्तिक र पुस महिनामा हिमपात भएको थियो ।
हिमपातमा पनि पठनपाठन
बाहिर हिमपात भई रहेको भए पनि विद्यालयहरुले कक्षामा पठनपाठन जारी राखेका छन् । गत माघ १५ गतेबाट पठनपाठन सुरु गरेका विद्यालयहरुले कोर्ष सक्नका लागि भएपनि चिसोमा पठन पाठन जारी राख्नुपरेको बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । उहाँको विद्यालयमा सबै कक्षाका पठनपाठन शुक्रवार जारी  थियो । ठूला कक्षाका विद्यार्थीलाइ पठनपाठनमा समस्या नआए पनि साना कक्षाका विद्यार्थीलाइ भने चिसोको कारण समस्या भएको थियो ।