फिचर | पढ्नै पर्ने |

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

मुना हमाल
सुर्खेत, माघ २५ गते । कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । स्वास्थ्य शिक्षा अधिकृत नवराव कंडेलले वीरेन्द्रनगर ६ का ६१ वर्षीया महिलाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो ।
उनलाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार गरिएको थियो । मृत्तकलाई उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोग भएको र प्रोटोकल अनुसार उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मृत्तकको शव जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेत र नेपाली सेना समन्वयमा व्यवस्थापन गरिएको छ । कर्णाली प्रदेशमा अब कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतका १७, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एकरएक जना तथा अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण मृत्यु् भएको हो । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय २८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार तीन सय १७ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक सय ८१ छ ।