फिचर | पढ्नै पर्ने |

आर्थिक अभाव, प्रविधि र नयाँ संस्करण नहुँदा पाठकविहीन बन्दै पुस्तकालय

टीकाराम उप्रेती
झापा, माघ २७ गते । प्रविधिको विकास तथा नयाँ सस्करणका पाठ्यसामाग्री खरिद गर्न नसक्दा झापाको गौरादहमा रहेको सामुदायिक पुस्तकालय अहिले थला परेको छ ।
तत्कालीन गौरादह क्याम्पस हातामा करिब ५ कठ्ठा जग्गाको भोगाधिकारसहित आफ्नै भवनमा स्थापना गरिएको भव्य पुस्ताकलय अहिले अध्ययन गर्न आउने पाठकको अभावमा संकट बेहोर्दै आएको छ । एक समय हरेक अनुसन्धान, खोज, साहित्य, सामान्य ज्ञान हासिल गर्नदेखि किसानले आफ्नो बालीमा भएको समस्या समाधान गर्न समेत यो पुस्तकालयमा धाउने गरेका थिए । पुस्तकालय प्रमुख अम्बिका पौडेलका अनुसार विसं २०५३ मा स्थापना भएको ६८ सालसम्म अध्ययन गर्न आउने पाठकको निक्कै भिड लाग्ने गरेको थियो । बिस्तारै गाउँ गाउँसम्म इन्टरनेट बिस्तार हुँदै गयो । घर घरमा स्मार्ट मोबाइल भित्रिँदै गएपछि पुस्तकालयमा आउने पाठकको संख्या क्रमशः घट्दै गएको हो ।
स्थापनाकालमा जति पुस्तक खरिद गरियो त्यो बाहेक पुस्तकालयमा इन्टरनेट जोड्नेदेखि नयाँ पुस्तक खरिद गर्न सकिएको छैन । जसले गर्दा यहाँ अध्ययन गर्न आउन मानिसको क्रमशः घट्दो क्रममा रहेको प्रमुख पौडेलले बताउनुभयो । यस पुस्तकालयमा महिलासँग सम्बन्धित पाठ्यपुस्तक अध्ययनका लागि छुट्टै महिला कक्ष र बालबालिका बौद्धिक बिकासका लागि वाल कक्ष समेत सञ्चालन गरिएको थियो । खासगरि महिला कक्षमा महिला हिंसा, महिला स्वास्थ्य, महिला कानुन अध्ययन गर्न गाउँ गाउँबाट आउने गरेका थिए । महिला हिंसाको पीडामा परेका ग्रामिण भेगमा महिलासमेत कानुनमा के अधिकार छ भनि अध्ययन गर्न आउने गरेको प्रमुख पौडेलको अनुभव छ ।
पुस्तकालय व्यवस्थित गर्न तत्काल सामान्य ज्ञान, दर्शन, धर्म, सामाजिक, विज्ञान, भाषा, प्रविधि, कला, साहित्य, इतिहास र भूगोलका छुट्टाछुट्टै शाखा स्थापना गरिएको थियो । पुस्तकालयको आफ्नो आम्दानी नभएकाले प्रविधि जोड्न र नयाँ सस्करणका पाठ्यपुस्तक हाल्न नसकिएको गौरादह सामुदायिक पुस्तकालय समितिका अध्यक्ष लवहरि दाहालले बताउनुभयो ।
त्यतिमात्र होइन वि.सं २०७० सालदेखि समुदायमा गरिर्दै आएका सबैखाले कार्यक्रम समेत बन्द भएका छन् । स्थापनाकालमा दैनिक ७० देखि १ सय जनामासम्म पाठक आउने गरेका थिए । तर यो सख्या घटेर अहिले दैनिक ९ जना मात्र आउन थालेका छन् । त्यो पनि नियमित नरहेको जनाइएको छ । पछिल्लो समय स्थानीय तह गठन भएपछि भने प्राथमिकतामा नपरेको पुस्तकालय अहिले लगभग थलापरेको अवस्थामा छ । अध्ययन गर्न आउने पाठकको कमीका कारण यहाँ रहेका पुस्तक धुलोले पुरिएको अवस्थामा  छन् ।
अमेरिकी नागरिक डाक्टर एन्टोनी न्युएयर र गौरादह क्याम्पसको संयुक्त पहलमा स्थापना गरिएको थियो । यसलाई आर्थिक रुपमा रिड नेपाल नामक सस्थाले आर्थिक सहयोग गरेको थियो । त्यसपछि स्थानीय तहले फर्केर नहेर्दा अहिले पुस्तकालय लगभग बन्द हुने अवस्थामा पुगेको छ ।