फिचर | पढ्नै पर्ने |

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

काठमाडौँ, माघ २८ गते । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।

यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । “उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो” उहाँले भन्नुभयो,“हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १.३ मिलिलिटर मात्र वर्षा भएको छ ।”

मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना छैन् । सो प्रणालीको प्रभाव साँझपखबाट हटेर जाने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश नं १ तथा वाग्मती प्रदेशका पहाडी भ–ूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव दुई डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस छ ।