फिचर | पढ्नै पर्ने |

वैदेशिक रोजगारको पीडा: सुभाषलाई मृत्यु दर्ता प्रमाणपत्र घाँडो

हरिप्रसाद कोइराला
बेलबारी(मोरङ), माघ २८ गते । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ ।
तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भए पनि उहाँले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न सक्नुभएको छैन । आफू जीवितै भएको प्रमाण जुटाउन उहाँ धेरै पटक सरकारी कार्यालय धाउनु भयो । तर, विदेश (साउदी अरब)मा मरेर लाश झिकाउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले उहाँले सजिलै जीवित भएको प्रमाणपत्र बनाउन नसक्नु भएको हो ।
तामाङका अनुसार उहाँ २०७२ को असार २४ गते साउदी अरवमा दुर्घटनामा पर्नुभयो । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उहाँसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा पर्नुभएको थियो । चारमध्ये ३ जना नेपालीको घटनास्थलमै मृत्यु भयो । कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर ६ महिना उपचार ग-यो । साउदी अरबको हुण्डाई कम्पनीले शव क्षतविक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सूचना दियो ।मृतकको पहिचान नगरीकन अस्पतालले शव कम्पनीलाई बुझायो । सोही अनुसार सुभाष तामाङको मृत्यू भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु ग-यो । कम्पनीले सुवासको परिवारलाई मृत्युको खबर ग¥यो । सुभाषका आफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे । सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुभाष तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्परा अनुसार अन्त्येष्ठि गरियो । शव चिन्नै नसकिने गरी क्षतविक्षत भएकोले आफ्रना पति हुन् वा होइनन्, उहाँकी पत्नी सन्तोषी तामाङले पनि ठम्याउन सक्नुभएन । सन्तोषी तामाङले भन्नुभयो – पहिचान गर्न सकिने अवस्थामा शव थिएन्, अझ शोकमाथि पीडा पनि थियो । कसरी चिन्नु र ?
अस्पतालमा उपचाररत ब्यक्तिको ७५ दिनपछि होस खुल्यो । होस खुलेको बिरामीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शव मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्येष्ठि गरेको खुल्यो ।
उता कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्येष्ठि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे । यता सुवास तामाङ परिवारमा भने खुसी छायो । यद्यपि उहाँको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनः जन्माएर पुर्नजन्मको विधि गराइयो ।
अहिले सुभाषको शरीरभरि चौटैचोट छ । २ घण्टा अघि देखेको ब्यक्तिलाई २ घण्टापछि चिन्न सक्नुहुन्न उहाँ । बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चिया पसल गरेर दुई छाकको जोहो गरिरहनु भएका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । छोरा छोरीलाई राम्रोसँग पढाउने र सुखी बन्ने सपना बोकेर बैदेशिक रोजगारमा हानिनु भएका तामाङको सपना पानीको फाेका झैं फुटेको छ । उहाँले भन्नुभयो- न कम्पनीबाट क्षतिपूर्ति पाएँ । न त आफ्नो देशको सरकारले दिने सेवा सुबिधा नै लिन पाएको छु । स्तब्ध हुँदै उहाँले भन्नुभयो ।