फिचर | प्रदेश |

कावासोतीको बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान

ज्ञानु पंगेनी
कावासोती , फागुन ६ गते । नवलपरासी पूर्व (नवलपुरमा) पहिलो पटक प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । कावासोती नगरपालिका–१ मा पर्ने नगरकै अग्लो डाडाँ बालुवा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो ।
बालुवा डाँडाको ९२७ मिटर उचाईबाट उडान भरिएको थियो । पाइलट हरि थापाले पहिलो उडान गर्नु भएको हो ।

त्यसपछि थप पाइलट सहित दुई दुई जनाको थप दुई वटा उडान गरिएको थियो । पहिलो दिन तिन वटा सफल परिक्षण उडान भएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो । बालुवा डाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल ल्याण्डिङ गरिएको हो मर्दनियाले जानकारी दिनुभयो ।

कावासोतीका युवाहरुले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवा डाँडा प्याराग्लाइडिङ युवा समुह गठन गरेर यहाँको सम्भावना बारे अध्ययन र प्रक्रिया अगाडी बढाएका थिए । नागरिक उड्यान प्राधिकरणबाट परिक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासंग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समुहका सचिव बिमल रानाले बताउनुभयो ।

अध्यक्ष उमेश रानाले नाङ्गो आखाले देखेको सपना पुरा भएको भन्दै यसलाई व्यवसायिक रुपमा अगाडी बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । कावासोती–१ को बालुवा डाँडाको अन्य स्थानबाट समेत थप सम्भाव्यता अध्ययनको लागि पाँच दिन सम्म परिक्षण उडान सञ्चालन गरिने अध्यक्ष रानाले बताउनु भयो ।

बालुवा डाँडा क्षेत्रमा हावाको वाहव, उडान र ल्याण्डिङ क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको पाइलट हरि पहारीले जानकारी दिनुभएको छ । प्याराग्लाइडिङको लागि बालुवा डाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीको भनाई छ ।

कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले ल्याण्डिङ स्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गर्नु भएको थियो । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडी बढाउने युवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।