फिचर | प्रदेश |

मालपोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुस सहित नियन्त्रणमा

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग जग्गा फुकुवा गरिदिने भनि घुस लिंदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनलाई ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै लिएको ६ लाख रुपियाँसहित पक्राउ गरिएको हो ।

उक्त रकमसहित दुवै जनालाई शुक्रवार जितपुर सिमरा उ.म.न.पा. वडा नं.२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।