फिचर | प्रदेश |

सिस्नेमा लागेको डढेलो नियन्त्रण बाहिर,दर्जन बस्ती जोखिममा

रुकुमपूर्व, फागुन १५ गते । रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बस्ती जोखिममा परेका छन् ।    
    
सिस्ने– २ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहानसम्म धेरै ठाउँमा फैलिसकेको छ । कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताउनुभयो ।    
    
उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।     
    
डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । डढेलो नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताउनुभएको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।