फिचर | पढ्नै पर्ने |

बाजुरामा एक लाख २५ हजार फलफूलका बिरुवा रोपियो

शेरबहादुर सार्की
बाजुरा, फागुन २० गते । कृषि ज्ञान केन्द्र बाजुराले यस वर्ष बाजुरामा १ लाख २५ हजार फलफुलका बिरूवा रोपेको छ । गतवर्ष झैँ यो वर्ष पनि सरकारी अनुदान र किसानको लागतमा एक लाख २५ हजार बिरूवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
गरिबी र अभावको जिल्लाको उपमा पाएको बाजुरालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा गरी बृहतरुपमा फलफूल विरुवा रोप्ने अभियान सञ्चालन गरेसँगै यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका बिरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, यो वर्ष बिरुवाको सङ्ख्या विगतका वर्षको तुलनामा करिव पाँच गुणाले बढी रोपण गरिएको छ । यस वर्ष जिल्लामा बिजु ओखर १९,हजार ५०, कलमी ओखर ९००, टर्किवाट ल्याईएको च्यान्दलर जातको एक वर्षमै फल्ने ओखर २१,हजार २५० बोट रेपिएको छ भने एक वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४,हजार ८००, अन्य जातको स्याउ ६५ हजार ५००, किवी तीन हजार र नास्पाती/आरु/आरुबखडा ५०० विरुवा गरी जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको सूचना अधिकारी जैशीको भनाइ छ ।
यसका साथै १० हजार जङ्गली मेलका बोटलाई कलमी गरी नास्पती बनाइएको छ । बिरुवा सङ्ख्याको आधारमा ओखर २५८ हेक्टर, स्याउ २०० हेक्टर, किवी ८ हेक्टर र अन्य फलफूल ३४ हेक्टर गरी ५०० हेक्टरमा हिउँदे फलफूलको थप क्षेत्र विस्तार भएको पनि कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ ।