फिचर | पढ्नै पर्ने |

पक्की घर निर्माणले डुम समुदाय खुसीः 'सरकारले चासो लिएको अनुभूति भयो'

जिवछ यादव
लहान,फागुन २५ गते । डुम समुदायको पनि पक्की घर बन्ला भन्ने सोचेकै थिएनौं तर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत लाहान –२३ गढाका २४ घर डुम समुदायको घर निर्माण हुनथालेपछि स्थानीय डुम समुदायहरु खुसी देखिएका छन् ।
सात पुस्तादेखि ऐलानी जग्गा पोखरीको डिलमा बस्दै आइरहेका ७० वर्षीय मधु मरिक भन्नुहुन्छ, अब देशमा डुम जस्ता अति पिछडिएको गरिब दलितका लागि पनि सरकारले चासो लिएको अनुभूति भयो । डुमलाई त मानिस नै गन्दैनथे, भोजभतेरमा जुठो खानुपर्ने, मरेका मानिसहरुले फालेको लुगा लगाउनुपर्ने,गाउँका विद्यालयमा डुमसँग हुने छुवाछूतको कारण हाम्रो पुस्ताले पढ्नै पाएन । सरकारले छुवाछूत हटाउन कानुन ल्याएपछि अब हाम्रा नाति नातिनीहरु सबै रमाइ रमाई गाउँको विद्यालयमा पढिरहेका छन् । अन्य जाति पनि दैलोमा आएर बस्छन् । डुम समुदायको पनि दिन फर्किएको छ ।
प्रदेश २ का सरकारबाट आएको जनता अावास कार्यक्रम अन्तर्गत डुमहरुको घर निर्माणको लागि प्रदेशसभा सदस्य अशोककुमार यादव, स्थानीय समाजसेवी अशेश्वर यादव र लाहान नगरपालिकाको पहलबाट पक्की घर निर्माण भइरहेको दुखनी मरिकले भन्दै घर त भयो तर शौचालय नहुँदा खुल्ला शौचालय गर्नुपर्ने बाध्यता छ नहटेको दुखेसो व्यक्त गर्नुभयो । कहिबाट शौचालय र वयवस्थित खानेपानीको लागि पहल भइदिएको भए हुन्थ्यो, उहाँले माग गर्नुभयो ।
वडा कार्यालयमा कैयन दिन गयौ तर बालपोषण भत्ता नपाएको पुनम मरिकले गुनासो गर्दै भनिन्, ‘यसै गाउँका अन्य जातिका बालबालिकाहरुलाई पोषणभत्ता दिए पनि डुमका बालबालिकाहरुलाई दिएन । यसको लागि पहल होस् हाम्रो माग छ ।’
बाँसजन्य सामग्री बनाएर गुजारा गरिरहेको लटु मरिकले भन्दै बजारमा प्लाष्टिकजन्य सामग्रीहरु व्यापक आउन थालेपछि बाँसको चोयोबाट बनाउने नाङगलो, डाला, बेनाको विक्री हवातै घटेर रोजगारी नै समस्यामा परेको त्यस गाँउका युवक लटु मरिकले भन्दै रोजगारीको लागि प्रदेश र स्थानीय सरकारले सोचिदिन आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य अशोक यादवका अनुसार यस बस्तीको डुम समुदायको जीवनस्तर सुधारको लागि चुनावमा गरेको प्रतिबद्धता अनुसार जनता आवास कार्यक्रम अन्तर्गत ७२ लाखमा प्रत्येक परिवाले दुईकोठे पक्की भवनको दरले २४ घरपरिवारको लागि भवन निर्माण भइरहेको छ । शौचालय , खानेपानी र अन्य सुविधाका लागि लाहान नगरपालिकासँग  समन्वय गरेर अन्य सेवा सुविधाहरु समेत उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।
डुम समुदायमा व्यापक शिक्षा र चेतनाको स्तर बढ्दै जान थालेकोले दिनचर्यामा निकै परिवर्तन आउन थालेको डुम कल्याण संघ सिराहाका अध्यक्ष रामचन्द्र मरिकले स्वीकार गर्दै जातीय बैठक बसेर जिल्लामा बालविवाह रोक्न थालेको अभियानले गति पाएको जानकारी दिनुभयो ।
चार पाँच वर्षकै उमेरमा डुम समुदायमा हुने बालविवाह रोक्न दलित अभियानकर्मीहरुलाई निकै मेहनेत गर्नुपरेको दलित अभियानकर्मी बिनोद बिसुनकेले अनुभव साट्दै डुम समुदायको सामाजिक, आर्थिक र राजनीतिक पहुँच बढाउन हरेक दल फराकिलो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।