फिचर | पढ्नै पर्ने | फोटो फिचर |

पोखरा–जोमसोम हवाइ रुटमा दैनिक चार उडानः मुस्ताङका पर्यटन व्यवसायी उत्साही

अमृतप्रसाद पौडेल
बेनी, फागुन २५ गते । हिमालपारिको जिल्ला मुस्ताङमा ११ महिनापछि हवाइ मार्गमार्फत पर्यटक आउन थालेपछि मुस्ताङीहरु उत्साहीत भएका छन् । पर्यटन व्यवसायकै माध्यमबाट चल्ने मुस्ताङमा गत चैत ११ देखि पूर्ण रुपमा हवाइ यातायात बन्द भएपछि पर्यटन व्यवसाय संकटमा परेकोमा फागुन २२ गते बाट हवाइ मार्ग सुचारु भए पछि व्यवसायीहरु खुशी भएका छन् ।

जोमसोम विमानस्थल प्रमुख दीपक विकका अनुसार अहिले भारतीय पर्यटकहरुको आगमन नै धेरै रहेको छ । तेस्राे मुलुकका पर्यटकहरु प्लेन सुचारु पनि खासै आएको देखिएको छैन । शनिबार पछि तीन दिनमा दैनिक २/३ जना हाराहारीमा मात्र भित्रिएका छन् । विमानस्थल प्रमुख विकले भन्नुभयो –‘हाल पोखरा जोमसोमको हवाइ रुटमा तारा एयर र समिट एयरले उडान भरिरहेका छन् भने स्थानीयले नेपाली ध्वजावाहक नेपाल एयरको उडान पनि हुन पर्ने माग गरेका छन् ।’ बिक भन्नुहुन्छ अहिले प्लेन सुरु भएपछि दैनिकजसो कहिले आउँछ नेपाल एयर भनेर सोध्ने सर्वसाधारणहरु पाइन्छन् त्यसैले हामीले पनि आफ्नो तबरबाट नेपाल वायुसेवा निगमको उडानका लागि पनि प्रयास गरेका छौं र सकारात्मक प्रतिकृया आएकोले निकट भविष्यमै मुस्ताङमा नेपाल वायुसेवा निगमले सेवा दिन थाल्नेमा म विश्वस्त छु ।

मार्च ६ देखि समिट एयर र तारा एयरको विमानले उडान भर्न थालेपछि मुस्ताङका बासिन्दा एवम् पर्यटन व्यवसायीहरु उत्साहीत भएका हुन् । विमानस्थल प्रमुख विकका अनुसार अहिले दैनिक ४ फ्लाइट भएको छ । प्रतिफ्लाइट १७ यात्रु आउने हुँदा दैनिक अहिले झण्डै ७० जना आन्तरिक तथा बाह्य पर्यटकहरु हवाइ मार्गमार्फत मुस्ताङ भित्रिएका छन् ।

मुस्ताङ उद्योग बाणिज्य संघ एवम् होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचन भन्नुहुन्छ –‘अहिले भारतीय र नेपाली पर्यटकहरु मात्रै हवाइ मार्गबाट आएका छन्, तेस्राे मुलुकका पनि पर्यटकहरु अब आउने हामीलाई आशा छ ।’ अहिले पोखरा जोमसोम हवाइमार्ग प्रयोग गरेर मुक्तिनाथ दर्शन गर्न जाने भारतीय एवम् नेपाली पर्यटकहरु आइ रहेको अध्यक्ष तुलाचनले बताउनुभयो ।
अध्यक्ष तुलाचन भन्नुहुन्छ –‘कोरोना भइरसको जोखिमले गर्दा थलिएको मुस्ताङी पर्यटन उद्योगलाइ भारतीय पर्यटकले उकास्छन्, नेपालमा कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेपछि भारतीय पर्यटकहरु अवश्य बढ्छन्, भारतीयको मुख्य लक्ष्य मुक्तिनाथ हुने हुँदा भ्याक्सिन लगाइसकेपछि अरु थपिनेछन् ।’

गत चैत ११ पछि पूर्णरुपमा बन्द हुँदा मुस्ताङक होटल तथा रेष्टुरेन्टहरु धराशायी अवस्थामा पुगेका थिए । कोरोना भाइरसको यस्तो डर थियो कि होटल खुलाउनै नमान्ने अवस्था थियो – अध्यक्ष तुलाचन भन्नुहुन्छ । अध्यक्ष तुलाचनका अनुसार जिल्लाका माननियहरु, पोखरा पर्यटन परिषद्, छिमेकी जिल्ला म्याग्दी तथा पर्वत जिल्लाका व्यवसायीहरुको आग्रह एवम् उहाँहरुले व्यवसाय खुलाउन दिएको दवावका कारण व्यवसाय सञ्चालन गर्न सकिएको हो ।

मुस्ताङ सदरमुकाम जोमसोम एयरपोर्ट नजिक मात्रै सुविधा सम्पन्न ३५ वटा होटल रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ मुस्ताङका अध्यक्ष तुलाचन बताउनुहुन्छ । व्यवसायीले खुलाउन नमाने पछि हामीले ‘राख्नेले राख नराख्नेले नराख भनेरै प्रेसर दिएरै खुलाइएको थियो ।’ मुस्ताङमा होटलहरु औपचारिक रुपमा गत पुस १५ बाट खुलेका थिए भने पुस २१ बाट मुक्तीनाथ मन्दिर तथा कागबेनीमा पुजाआजाका लागि सर्वसाधारणलाइ खुला गरिएको थियो ।

मुस्ताङ जिल्लाभर प्राय सबैजसो होटल तथा रेष्टुरेन्ट नै भए पनि व्यवसायीक तबरले करिब ३५० होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । होटल व्यवसायी संघका अध्यक्ष तुलाचनका अनुसार जिल्लाभित्र सञ्चालित जोमसोम माउण्टेन रिसोर्ट, थासाङ भिलेज रिसोर्टले निकै ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका छन् । अन्य होटलहरु पनि व्यवसायिक रुपमा सञ्चालन गर्नका लागि प्रति होटल रेष्टुरेन्ट सरदर ५ करोड लगानी भएकाे छ ।