फिचर | पढ्नै पर्ने | फोटो फिचर |

बागलुङ गलकोट निलुवामा आन्तरिक पर्यटकको चाप बढ्दै (फोटो फिचर)

नवीन शिशिर विक
बागलुङ, फागुन २६ गते । बागलुङको गलकोट नगरपालिका–४ निलुवा लेकमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । निलुवा क्षेत्रबाट देखिने दजैनौ हिमश्रृङ्खला र चराचुरुङ्गीको आवाजले पर्यटकलाई मोहित बनाउँछ । प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु निलुवा पुग्न थालेका हुन् ।

गलकोट नगरपालिका र स्थानीयको सहयोगमा ७५ लाख रुपियाँ खर्च गरेर सो क्षेत्रमा सडक सञ्जाल विस्तार गरिएको थियो । सडक निर्माण पश्चान आन्तकि पर्यटक बढदै गएका छन । वरिपरि जंगल बीचमा समथर मैदान भएका कारण यस क्षेत्रमा मिनी काठमाण्डौ पनि भन्ने गरिएको स्थानिय ईश्वर सुवेदीको भनाइ छ ।

निलुवा पर्यटकीय क्षेत्र प्रवर्धन केन्द्रको अगुवाइमा पूर्वाधार निर्माणको काम थालिएको छ । सडक पूर्वाधारले जोडिएको र केही संरचना बन्दै गएसँगै मनोरम प्राकृतिक दृश्यावलोकनका लागि निलुवा उत्कृष्ट गन्तव्य बनेको केन्द्रका अध्यक्ष अध्यक्ष ओमकार सुवेदीको दावी छ ।

केन्द्रले ४ लाख ४६ हजार रुपियाँ लागतमा प्रतीक्षालयको निर्माण गरेको छ । वन पर्यापर्यटन कार्यक्रम र आन्तरिक लगानीमा पक्की शौचालय र खानेपानी व्यवस्थापन गरिएको छ । सो क्षेत्रमा पूर्वाधार निर्माणका निम्ती करिब एक करोड रुपियाँ खर्च भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । निलुवा लेक दुई हजार ५ सय मिटरको उचाइमा पर्छ । यहाँ वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण तथा ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक पुग्ने गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

कलात्मक प्यागोडा शैलीको बराह मन्दिर निर्माण गर्ने चरणका लागि जग्गा व्यवस्थापनको प्रकृया अगाडी बढाइएको छ । धौलागिरी क्षेत्र मै पहिलो पटक निर्माण हुन लागेको उक्त मन्दिर निर्माणका लागि पुरातत्व विभागमा पनि समन्वय भै सकेको र अगामी बैशाखदेखी मन्दिर निर्माणको काम अगाडी बढाइने अध्यक्ष सुवेदीले बताउनुभयो ।

‘यहाँको भू–बनोट, हावापानी लोभलाग्दो रहेछ’ तनहुँबाट घुम्नका लागि गलकोट पुग्नुभएकी शान्ता बाँस्तोलाले भन्नुभयो– ‘तलबाट उकालो आउँदा यो ठाउँ त स्वर्गको टुक्रा जस्तै रहेछ । यहाँबाट दर्जनौ हिमालहरु पनि देख्न सकिँदो रहेछ । निलुवाबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छे लगायतका आधादर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । ५५ भन्दा बढी खरका परम्परागत गोठथरीले पनि पर्यकटलाई लोभ्याउने गरेको छ ।

किसानको पुरानो जीवनशैली झल्काउने गोठ संरक्षण गर्न केन्द्रले पहल गरिरहेको छ । केन्द्रले उक्त गोठथरीलाई पुनःनिर्माण गरी पुरानै शैलीमा होमस्टेको रुपमा प्रवर्धन गर्ने योजना बनाएको निलुवा पर्यटकीय क्षेत्र प्रवर्धन केन्द्रका सल्लाहकार टीकाराम सुवेदी बताउनुभयो । हरिण, मृग कालिज लगायतका बन्यजन्तु र पशुपंक्षीको संरक्षणमा पनि केन्द्रले सक्रियता जनाउने सुवदीको भनाइ छ ।

निलुवामै रहेको ५ सय मिटर अग्लो मौरीभिरमा शिकारीले जोखिम मोलेर मह शिकार गर्छन । दुई वर्ष पहिले यस क्षेत्रमा मह शिकारका लागि मेला नै लागेको थियो । निलुवा लेक पुग्न बागलुङ सदरमुकामबाट ४५ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ । मध्यपहाडी लोकमार्गको डाँडाखेतबाट डेढ घण्टा उकालोमा पदयात्रा गर्न सकिन्छ भने झण्डै ५ किमीको कच्ची सडकको गाडीको यात्रामा ३० मिनेट लाग्छ ।