फिचर | पढ्नै पर्ने | पर्यटन |

खुम्बुमा बढ्न थाल्यो पर्यटकको चहलपहल

सन्तोष राउत
सोलुखुम्बु, फागुन २६ गते । कोभिडका कारण विगत लामो समयदेखि सुनसान नबनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रखुम्बुमा पर्यटकको चहलपहल शुरु हुन थालेको छ । कोभिडको महामारी विस्तारै कमहुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढ्न थालेको हो ।
आरोहण सिजन सुरु हुन लागेपछि खुम्बुमा पर्यटकको चहलपहल बढेको हो । हालसम्म यो सिजन शुरु भएपछि १५५ जना पर्यटक खुम्बु भित्रएको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ ।
खुम्बुमा २५ महिला र ४६ पुरुष गरी ७१ जना विदेशी तथा ६३ महिला र २१ पुरुष गरी ८४ जना आन्तरिक गरी १५५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सुनसान रहेको खुम्बुमा दैनिक पर्यटकको संख्या बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारमा चहलपहल बढेको हो । पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा पर्यटकहरुलाई जानकारी प्रदान गर्ने काम गर्दछ ।
फाटफुट पर्यटक आउन थालेपछि पर्यटक भरियाका रुपमा काम गरेर गुजारा चलाउनेहरुले समेत आशा पलाएको बताएका छन् । यसलाई पर्यटन व्यवसायीहरुले सकरात्मक सङ्केतका रुपमा लिएका छन् । सन् २००५ यता सगरमाथा राष्ट्रिय निकुञ्जमा बर्षेनि २५ हजारको हाराहारीमा पर्यटकहरु आउने गरेकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण विगत एक वर्ष यता पर्यटन व्यवसाय ठप्प छ ।
त्यस्तै, पर्यटक आउन थालेपछि का्भिडका कारण बन्द रहेका होटल पनि खुल्न थालेका छन् । महिनौँदेखि बन्द भएका लुक्ला नाम्चे तथा त्यस क्षेत्रको पर्यटन मार्गमा रहेका होटलहरु पर्यटक आउन थालेपछि खुल्न थालेको नाम्चे होटल व्यवसायी सङ्घका सल्लाहकार लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुासर नाम्चेमा रहेका ४० भन्दा बढी होटलमा १५ देखि २० वटा होटल खुलेका छन् । लुक्ला हुँदै पर्यटन मार्गमा पर्ने जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचेलगायतका क्षेत्रका होटल खुल्न थालेको स्थानीय तोया श्रेष्ठले बताउनुभयो । लामो समय पर्यटन व्यवसाय ठप्प हुँदा व्यवसायीहरुको बिचल्ली भएको थियो ।