फिचर | पढ्नै पर्ने |

दैलेख सामूहिक आत्महत्या काण्डः बेपत्ता बालिकाको दश दिनपछि भेटियो शव

कमल शर्मा
दैलेख, चैत ३ गते । गत फागुन २३ गते कर्णाली नदीमा हाम फालेका दैलेखको आठबिस नगरपालिका–३ निमायलका एकै परिवारका पाँच जनामध्ये एक जना बालिकाको शव दश दिनपछि कर्णाली नदीमा फेला परेको छ ।

कर्णाली नदीमा बेपत्ता रहेकी मानसिंह बडुवालकी कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो ११ बजे तिर अछामको तुर्माखाध–३ असराघाट भन्ने ठाउँ स्थित कर्णाली नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सनाखत गर्दा उनै बालिकाको शव भएको पुष्टि भएको बताउनुभयो । उहाँले शवलाई पोष्र्टम्यार्टमका लागि मंगलसेन जिल्ला अस्पताल अछाम पठाएको बताउनुभयो ।

गत फागुन २३ गते मानसिंहकी श्रीमती सुकी बडुवालले आफ्ना नाबालक चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन् । कर्णालीमा हामफालेका पाँच जनामध्ये सुकिसहित तीन जनाको शव यसअघि कर्णाली नदिमा फेला परी दाहसंस्कार गरिसकिएको छ ।

कर्णाली नदीमा हाम फालेर आत्महत्या गर्नेहरुमा मानसिंह बडुवालकी अन्दाजी ३५ वर्षीया सुकी बडुवाल ८ वर्षीय छोरा ललित बडुवाल, १५ वर्षीया छोरी कल्पना बडुवाल, १२ वर्षीया छोरी सरिता बडुवाल र ५ वर्षीया छोरी रजनी बडुवाल छन् पारिवारिक रुपमा पैसाको विवादकै कारण भए पनि त्यति ठूलो घटना हुनु अन्य कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।