फिचर | पढ्नै पर्ने | फोटो फिचर |

हुलाकी सडक स्तरोन्नतिकाे काम तीव्र, स्थानीयमा छायो खुसी

धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ९ गते । नेपालकै सबभन्दा पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सप्तरी खण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । जिल्लामा हुलाकी सडक आयोजना अन्तर्गत पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी चार वटा सडकको स्तरोन्नति कार्य भइरहेको छ । यसरी निर्माण भइरहेको सडकले स्थानीयहरु निकै खुसी देखिन्छ ।
तराई मधेशको ‘लाइफ लाइन’ भनिने हुलाकी सडकको पूर्व–पश्चिम अन्तर्गत राजविराजदेखि पश्चिम बलानसम्म २६ र कञ्चनपुरदेखि राजविराजसम्म २० किलोमिटर तथा उत्तर–दक्षिणमा कठौना–पातो फत्तेपुर १८ र राजविराज कुनौली १२ गरी कुल ७६ किलाेमिटर सडक स्तरोन्नति कार्य भइरहेको हुलाकी सडक आयोजना कार्यालय इटहरीले जनाएको छ ।
कञ्चनपु–राजविराज ४०, राजविराज–बलान ७०, राजविराज–कुनौली ७०, कठौना–पातो फत्तेपुर सडक खण्डमा ३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो । ती सडकका बाँकी कामहरु तीब्र रुपमा भइरहेको उहाँले थपिएको समयमा सम्पन्न हुने बताउनुभयो ।
राजविराज–बलान सडक खण्डमा २० किलो मिटर पहिलो लेयर (बीबीएम) को काम सकिसकेको र छ किलाेमिटरमा पहिलो लेयरको काम मात्र बाँकी रहेको जानकारी दिदै उहाँले भन्नुभयो, पहिलो लेयरको(प्रिमिक्स) काम सकिएपछि उच्च गुणस्तरका कालोपत्रे (असफल्ट) गर्नुपर्छ । अहिले भएको पीच(कालोपत्रे) उपर थप गुणस्तरको कालोपत्रे गरेर काम सकिनेछ ।
रौता, श्रेष्ठ, डिवा जेभी रातोपुलले २०७७ असार २९ मा सो सडक खण्डको स्तरोन्नति कार्य सम्पन्न हुने गरी २०७४ पुस १४ गते भ्याटसहिट एक अर्ब ३४ करोड ५२ लाख ५८ हजार १८९ रुपियाँमा सम्झौता गरेको थियो । यसअवधिमा कोरोना भाइरसको कहरका कारण निर्माणकार्य रोकिएकोले तोकिएको समयमा कार्य सम्पन्न नभएकोले थप छ महिना अवधि थपिएको छ । थपिएको म्याद पनि गत पुस २८ गते नै सकिएको छ । तर, काम सकिन अझै ३० प्रतिशत बाँकी छ ।
त्यस्तै, पूर्व–पश्चिम हुलाकी सडकको कञ्चनपुर–राजविराज खण्डमा छ किलो मिटर बेस काम सम्पन्न भइसकेको छ भने १४ किलोमिटरमा माटोको काम पूरा भइसकेको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । शर्मा बज्र गुरु लोहनी एण्ड ब्रदर्शले २०७७ असार २२ गते निर्माण सम्पन्न गर्ने गरी भ्याट रकमसहित ९५ करोड ७० लाख ६६ हजार ३८ रुपियाँ लागतमा ०७४ पुस ७ गते सम्झौता गरेको थियो । तर, सो अवधिमा काम पूरा हुन नसक्दा ०७८ असार २१ मा सम्पन्न हुने गरी म्याद थपिएको छ ।
हुलाकी सडकमा डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । हुलाकी सडक अन्तर्गत १७ वटा पुल निर्माणाधीन अवस्थामै छ । कुनैपनि पुलको निर्माण कार्य सकिएको छैन ।
यता गत असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुल निर्माण नहुँदा काम तोकिएको समयमा पूरा नभएको निर्माण कम्पनीको कथन छ ।
पूर्व–पश्चिम लोकराजमार्गको समानान्तरमा करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर बनाइएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकी हिँड्ने छोटो बाटोको रुपमा लिने गरेको छ । यसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ ।
पूर्व–पश्चिम राजमार्गबाट तराई–मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीका ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भएपनि नेपालमा २०६२÷६३ को परिवर्तनपश्चात भारतले नेपाल सरकारबाट छनोट भएका एक हजार ४४० किलोमिटर सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो ।
पूर्वदेखि पश्चिमसम्म हुलाकी राजमार्गको लम्बाइ एक हजार ७९२ किलोमिटर रहेको नेपाल सरकारले नक्साङ्कन गरिएको छ ।