फिचर | पढ्नै पर्ने |

भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, बैशाख १ गते । भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका सङ्क्रमितको मृत्यु हुने क्रम फेरि बढ्न थालेको छ । अस्पतालमा उपचारका लागि भर्ना रहेका गम्भीर अवस्थाका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको राप्तीसोनारी २ की ६९ वर्षीया महिला र कैलालीको लम्की चुहा १ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

ती दुबै जनाको अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेकै क्रममा उनीहरुको मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । उहाँले उनिहरुको उपचारका लागि अपनाउनुपर्ने सबै प्रकारका विधि अपनाईए पनि जोगाउन नसक्दा मृत्यु भएको बताउनुभयो ।

अझैपनि करिब ३० जनाको अवस्था निकै जटिल रहेको जनाउँदै ओलीले पछिल्लो समयमा भेटिएका सबै सङ्क्रमितहरु विरामी रहेकोले अस्पतालमा ठाउँ अभावले उपचारमा समस्या भैरहेको बताउनुभयो ।

यसैबीच मंगलबार रातीसम्म जिल्लामा रहेका सबै प्रयोगशालाले दिएको जानकारी विवरण अनुसार बाँकेमा एकै दिन ९१ जना नयाँ संक्रमित थपिएको पाइएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
थपिने संख्या अतिनै बढी रहेकोले उनिहरुको उपचारका लागि व्यवस्थापन गर्न सबै भन्दा ठूलो चुनौती बनेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।

उता, भेरी अस्पपतालको कोभिड वार्डको क्षमता विस्तार गर्ने लगायतका विषयमा छलफल गरेर निर्णय लिन बुधबार भेरी अस्पताल विकास समितिले एक महत्वपुर्ण बैठक बोलाएको छ ।

सो बैठकमा जिल्लाका करिब सबै प्रमुख सरोकारवालालाई पनि बोलाइएको जनाउँदै क्षमता विस्तार र सचेतना बढाउने विषयमा मुख्य छलफल र निर्णय हुने अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।