फिचर | पढ्नै पर्ने |

दैलेखमा कोरोना सङ्क्रमित युवकको मृत्यु

कमल शर्मा
दैलेख, वैशाख ५ गते । दैलेखमा एकाएक कोरोना सङ्क्रमणको दर बढेको छ । भारतमा मुख्य रोजगारी बनाएका युवाहरू धमाधम जन्मघर दैलेख फर्कने क्रम तीव्र भएसँगै कोरोना सङ्क्रमणको दर उच्च बनेको हो । भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका एक युवकको उपचारकै क्रममा शनिबार दैलेखको दुल्लू नगरपालिकास्थित दुल्लू अस्पतालमा मृत्यु भएको छ । उहाँ शुक्रबार मात्र दैलेख पुग्नु भएको थियो । मृत्यु हुनेमा छत्रबहादुर नेपाली रहेको दुल्लू अस्पतालले जानकारी दिएको छ ।

कोरोनाको लक्षण श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तहरूले उपचारका लागि दुल्लू अस्पताल ल्याएको थिए । कोरोना पोजेटिभ नभनेकोले दुल्लू अस्पतालमा रहेका तीन वटा डाक्टहरुले समेत सामान्य सुरक्षा मापदण्डमा उनको उपचार गरेका थिए ।

दुल्लू अस्पतालमा तनाव
मृतक नेपालीलाई कोरोना जाँच गर्ने किट समेत अस्पतालमा नभएकोले अन्य उपचार गरेको दुल्लु अस्पतालका डाक्टरको टोली कोरोना पोजेटिभ भएको खबर सुनेपछि तनावमा देखिएका छन् । दुल्लू अस्पतालका डाक्टर रञ्जना रोकायले मृतक नेपालीमा कोरोनाको लक्षण मिलेपछि सङ्क्रमित हुन सक्ने भन्दै रिफर गरेर अस्पतालबाट पठाएको बताउनुभयो । उहाँले गाडीको व्यवस्थापन गर्ने क्रममै उहाँको मृत्यु भएको जानकारी दिनुभयो ।

भारतको मुम्बईमा काम गर्ने उहाँका आफन्त र साथीभाइका अनुसार कोरोना पोजेटिभ भएपछि ती युवा घर परिवारको मुख हेरेर मर्छु भन्दै आफ्नो जन्मघर आएको रहस्य खुलेको छ । डाक्टर रोकायले अस्पतालमा रहेका तीन वटै डाक्टरहरू उपचारमा संलग्न भयौँ मास्क मात्र प्रयोग गरेका थियौँ, ग्लोब्स समेत लगाएका थिएनौँ, अहिले आफन्तहरू र मुम्बईमा काम गर्ने उनका साथीहरुसँगको खबर अनुसार उनको साथी समेत मुम्बईमा कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको र उनी पनि सङ्क्रमित भएको भन्ने खबर पाएका छौँ ।

उहाँले भन्नुभयो आधिकारिक डकुमेन्ट छैन, अस्पतालका अन्य इमरजेन्सीका बिरामीहरू समेत संक्रमणको जोखिममा परेका छौँ हामी तीन वटा डाक्टर समेत अहिले आफ्नो कोठामा बसेका छौँ । मृतक नेपालीलाई टिप्परमा राखेर उनको घर पु-याईएको छ । आफन्तहरूले ढाँटेको भन्दै खोजबिन सुरु गरिएको छ । आफन्त र अन्य मानिसहरूमा पनि सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

भारत लगायतका विभिन्न मुलुकमा काम गर्ने नागरिकहरु दैनिक घर फर्किए पनि विभिन्न चेक पोष्टमा सोध्दा समेत जानकारी नदिने गरेका कारण गाउँहरु कोरोनाको जोखिम बढ्दै गएको छ । अहिले छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अधिकांश पालिकाहरूमा भारतबाट आउनेहरूको घुइँचो नै लागेको छ । पालिकाहरुले भने विगत जस्तो सुरक्षा सतर्कता अपनाउन सकेका छैनन् ।

स्थानीय पालिकाहरू जिम्मेवार रहन भन्दै कोभिड विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर आवश्यक सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखबाट ताकेता गरिएको भए पनि स्थानीय सरकारले वास्ता नगर्ने गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले जिल्लामा कोभिड विपद् व्यवस्थापन समितिको बैठकले गरेका निर्णय तत्काल सबै पालिकाहरुमा पठाउने गरेको भए पनि कुनै पनि स्थानीय तहले त्यसको कार्यान्वयनमा तदारुकता नदेखाएको बताउनुभयो । उहाँले सिमानामा रहेका कोरोना पोजेटिभलाई सिमानाकै जिल्लामा राखेर उपचार गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले बाँके, कैलाली लगायतका प्रमुख जिल्ला अधिकारी सँग समन्वय गरेको प्याकुरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो नेपालगन्जबाट दैलेख आउन लागेका ६ जनामा सङ्क्रमण देखिएपछि उतै रोकियो भारतबाट नेपालगन्ज हुँदै दैलेख आउँदै गरेका ६ जनामा शनिवार कोरोना सङ्क्रमण देखिएपछि नेपालगन्जकै कोभिड अस्पताल र आइसाेलेसनमा राखेर उपचार गर्न भन्दै नेपालगन्जमै रोकिएको र उपचार र अन्य खर्च सम्बन्धित पालिकाले बेहोर्न खबर गरिएको जानकारी दिनुभयो ।

नाम मात्रको हेल्थ डेस्क
नेपालमा पुनः कोरोना सङ्क्रमण बढेपछि जिल्लामा प्रवेश गर्ने नाका गुराँस र तल्लो डुगेश्वरमा हेल्थ डेस्क निर्माण गरे पनि स्वास्थ्यकर्मी र स्थानीय तहको गैर जिम्मेवारी कारण हेल्थ डेस्कमा स्वास्थ्यकर्मी नबस्ने गरेको पाइएको छ ।
सबै पालिकाहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्थडेस्क स्थापना गरेर उपचार सुरु गर्ने भन्दै दुई साता अघिदेखि निर्णय गरिएको भए पनि हेल्थ डेस्क स्थापना भए पनि स्वास्थ्यकर्मी नबस्ने गरेको पाइएको छ ।
गुराँस गाउँपालिकामा स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो स्वास्थ्यकर्मी एक छिन आउँछन् हेल्थ डेस्कमा बस्छन् र पुनः फर्किने गरेका कारण पनि हेल्थ डेस्क प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले कर्मचारीले समेत मनलाग्दी गर्ने र भारत बाट आएका नागरिकले समेत आफु यहाँ बाट आएको नभन्ने गरेका कारण जोखिम बढ्दै गएको बताउनुभयो । जिल्ला प्रशासनले भने जिल्ला कोभिड विपद् व्यवस्थापन समितिको गरेको निर्णय कार्यान्वयन नगर्ने स्थानीय तहलाई भने कार्वाहीको प्रत्रिया थाल्ने जानकारी दिएको छ । यस अघि दैलेखका चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो । दैलेखमा शनिवार दुल्लूमा र भेरी अञ्चल अस्पताल नेपालगंजमा एक/एक जनाको मृत्यु भएपछि मुत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।