फिचर | पढ्नै पर्ने |

वीरगञ्जमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु

दीपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ७ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा मंगलबार बिहान पौने १ बजे मृत्यु भएको छ ।

नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार वीरगञ्जको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा गत चैत २९ गते देखि उपचाररत ती ५७ वर्षीय पुरुष संक्रमितको उपचारको क्रममा मंगलबार बिहान पौने १ बजे मृत्यु भएको हो ।

केही दिन पहिले मात्र भारतको दिल्लीबाट घर आएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि गत चैत २९ गत वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा ल्याईएको र सोही दिन स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो । मृतक मुटुको दीर्घरोगी रहेको चिकित्सकहरुले बताएका छन् ।

नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार ३२ जना सङ्क्रमितहरु वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत  छन् । उपचाररत ३२ जना सङ्क्रमितमध्ये नारायणी अस्पतालमा २३ जना र नारायणी वयोधा अस्पतालमा ९ जना रहेको उहाँले जानकारी दिनु भयो ।

कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगञ्जको नारायणी अस्पतालमा ४ जना र नारायणी वयोधा अस्पतालमा दुई जना गरी ६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु भएका ६ जनामा पर्साका ५ जना र बाराका १ जना रहेका छन् भने पर्साका एक जना सङ्क्रमितको चितवनमा उपचारको क्रममा ज्यान गएको छ ।