फिचर | पढ्नै पर्ने |

सबै कर्मचारीमा संक्रमण देखिएपछि वडा कार्यालय बन्द

सिराज खान
नेपालगञ्ज, बैशाख ७ गते । कोरोना हटस्पट बनेको बाँकेमा संक्रमण तीब्र गतिमा फैलिने क्रम निरन्तर जारी रहेको छ । दैनिक रुपमा संक्रमितहरु ठूलो संख्यामा थपिदैँ गएका छन् ।
सोही क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले एक सूचना प्रकाशित गरेर सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको जानकारी गराउनु भएको छ ।
वडा अध्यक्ष रिजालले सबै कर्मचारीलाई संक्रमण पुष्टि भएपछि परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय केही दिनका लागि शील गरीएको बताउनु भएको छ ।
सम्पूर्ण कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै केही समयकालागि वडा कार्यालय शिल गरीएको जनाउँदै अध्यक्ष रिजालले गत दुई तीन दिन यता वडा कार्यालयमा सेवा लिन आउनु भएका वडावासीलाई सचेत रहेर स्वास्थ्य बारे गम्भीर हुन आग्रह गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष रिजालका अनुसार बाँकेमा पछिल्लो समय कोरोनाको संक्रमणदर युद्धस्तरमा फैलिएको छ । सिमानाका हुँदै फैलिएको कोरोना पछिल्लो समय समुदायस्तरमा तीब्र गतिमा बिस्तार भएको छ ।
सोही कारणले गर्दा नेपालगञ्ज लगायत समग्र बाँके जिल्लाकै स्थिती भयावह हुँदै गएको उपमहानगरपालिकाले जनाएको छ ।
जिल्लाका अधिकांश स्थानिय तहले भने अहिलेसम्म पनि कोरोना संक्रमण फैलन नदिन कुनै ठोस र प्रभावकारी कदम चालेको नदेखिदाँ स्थानीय आक्रोशित बनेका छन् ।