फिचर | पढ्नै पर्ने |

वीरगञ्जमा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

दीपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ९ गते । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायधीश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा सङ्कलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परीक्षण रिपाेर्ट आउन बाँकी छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिपाेर्टमा ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । थपिएका नयाँ सङ्क्रमितमा पर्सा जिल्लाका ७९ जना , बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १/१ जना छन् । पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना बहुदारमाई नगरपालिकाका छन् । चार वर्षदेखि ७८ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ६४ जना पुरुष र २४ जना महिलामा छन् ।

यसअघि मंगलबार १४० परीक्षण गर्दा ९१ जना , सोमबार १४१ परीक्षण गर्दा ७८ जना आइतबार ९६ परीक्षण गर्दा ६१ जना , शनिबार ९० परीक्षण गर्दा ४५ जना, शुक्रबार ९४ परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो छ दिनमा ७५३ स्वाब परीक्षण गर्दा आधाभन्दा बढी अर्थात् ४२० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख ८ गतेसम्म गरिएको ११०१ जनाको पिसिआर परीक्षणमा ५६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरुको सङ्क्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३४ सम्म छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा सङ्क्रमितबाट सङ्क्रमण छिटो नसर्ने बताइन्छ ।