फिचर | पढ्नै पर्ने |

वीरगञ्जमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख १४ गते । वीरगञ्जका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना उपचाररत कोरोना सङ्क्रमित मृत्यु भएको छ । मङ्गलबार बिहानै दुइ जना सङ्क्रमितको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा चार जना महिला र एक जना पुरुष गरी पाँच जना कोारोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी एवं जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले वीरगञ्जको नारायणी अस्पतालमा ४ जना र वीरगञ्जकै गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमा १ जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु भएका ५ जना सङ्क्रमितमा पर्साको वीरगञ्ज महानगरपालिकाका ३ जना , पर्साकै बहुदरमाई नगरपालिकाका १ जना र बारा जिल्लाका १ जना छन् ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएका ४ जना सङ्क्रमितमा सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो भने सोमबार साँझ ६ बजे बहुदरमाई नपा ७ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी, मङ्गलबार बिहान ढेड बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ कै ४० वर्षीया महिलाको मृत्यु भयो भने मङ्गलवार बिहान ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । त्यसैगरी, वीरगञ्ज गण्डकस्थित नारायणी बयोधा अस्पतालमा वीरगञ्ज ८ की ३८ वर्षीया महिलाको सोमबार साँझ पौने ६ बजे मृत्यु भएको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता वीरगञ्जका विभिन्न अस्पतालमा १७ जना कोरोना सङ्क्रमितहरुको उपचारको क्रममा मृत्यु भएको छ । उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा १३ जना , नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमणको कारण मृत्यु भएका १५ जनामध्ये पर्साका १४ जना , बाराका २ र सर्लाहीका १ जना रहेका छन् भने पर्साका अन्य १ जनाको उपचारको क्रममा चितवनमा मृत्यु भएको थियो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी एवं जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार ७९८ जना होम आइृसोलेसनमा र ५० जना वीरगञ्जका बिभिन्नमा अस्पतालमा उपचाररत छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३७ जना र वीरगञ्जको गण्डकमा रहेको नारायणी बयोद्या अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । १४० जनाको पिसिआर परिक्षण गर्दा सोमबार साझ आएको परिक्षण रिर्पोटमा थप ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोमबार साँझ आएको परीक्षण रिपाेर्टबाट थपिएका ७६ जनामा सङ्क्रमितमा पर्साका ६४ जना र बाराका १२ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताउनुभयो ।