फिचर | पढ्नै पर्ने |

भेरी अस्पतालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, वैशाख १५ गते । यहाँस्थित भेरी अस्पतालमा उपचार गराइरहनु भएका थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एक पुरुष छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ की ३९ वर्षीया महिलाको गएराती साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ की ३९ वर्षीया महिलालाई बैशाख ८ गते कोरोना पुष्टि भएकोमा उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि भेरीमा भर्ना गरेर उपचार भैरहेकोमा गएराती मृत्यु भएको हो ।
सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषमा वैशाख १ गते कोरोना पुष्टि भएकोमा उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोले उहाँ ५ दिन होम आइसोलेसनमा बस्न भएको थियो ।
तर, भाइरसले च्याप्दै गएपछि बैशाख ६ गते उहाँलाई भेरीमा भर्ना गरिएकोमा उपचारकै क्रममा बुधवार विहान साढे २ बजे मृत्यु भएको ओलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।