फिचर | पढ्नै पर्ने |

व्यावसायिक कृषि खेतीबाट आत्मनिर्भर बन्दै उदयपुरका युवा

भोटराज राई

उदयपुर, वैशाख १९ गते । पछिल्लो समय केही युवाहरु कृषिमा आत्मनिर्भर देखिन थालेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१ की उस्मा राई यसै कामबाट यतिबेला एक उदाहरणीय युवा बन्नु भएको छ । ३२ वर्षीया राईले मदन भण्डारी लोकमार्गसँगै जोडिएको त्रियुगा नगरपालिका–१ फुलजोरमा दुई बिघा जग्गामा अर्गानिक तरकारीखेती तथा पशुपालन थाल्नुभएको छ । उहाँले खाली बगर बनेको जमिनमा कृषि फार्म खोलेर राम्रो आम्दानी गरिरहनुभएको छ । अर्गानिक तरकारीखेती तथा पशुपालनको आयआर्जनबाट नै आत्मनिर्भर बनेको उहाँले बताउनुभयो ।

एक वर्ष अघिबाट सुरु गरेको फार्ममा प्रशस्त टमाटर, भान्टा, भिन्डी, खुर्सानी, धनिया, तितेकरेला लगायतका तरकारी फलेका छन् । फर्ममा कुखुरा, हाँस, टर्की, बङ्गुर, भैंसी र माछा पनि पालेकी छिन् । तरकारीका साथै दूध तथा मासु पनि उत्पादन गरिरहेकी उनले “प्रर्देशी एग्रो कृषि फर्म” दर्ता गर्नुभएको छ । उहाँका अनुसार करिव ३६ लाख लगानी गरेर सञ्चालनमा रहेको कृषि फार्मबाट गतवर्ष साग मात्र ६ लाखको विक्री भयो । धनिया तीन लाखभन्दा बढीको बिक्री भयो भने अन्य तरकारी र बङ्गुर, कुखुराबाट पनि लाखौं आम्दानी भएको छ ।

गाईघाट बजार नजिकै रहेकोले उत्पादन भएका बस्तु बजारमा समस्या नरहेको उहाँले बताउनुभयो । राजमार्ग नै जोडिएकोले पनि कतिपयले फार्ममै पसेर किन्ने गरेका छन् । सुरुवातको समयमै लगानी अनुरुपको आम्दानी सन्तोषजनक रहेको उहाँको भनाइ छ । उहाँले थप ५ बिघा जग्गा भाडामा लिएर धानखेती पनि गर्दै आउनु भएको छ । उहाँले फार्ममा १० जनालाई रोजगारी दिनु भएको छ भने अब, महिला दिदी बहिनीलाई लक्षित गरेर ढाका कपडा बुनाइको कारखाना सञ्चालनको तयारी रहेको बताउनुभयो । उहाँको काम देखेर स्थानीयबासी पनि कृषिमा प्रोत्साहित बनेका छन् । अहिले उहाँको कामको प्रशंसा गर्ने प्रशस्तै छन् । “यसरी काम गर्ने हो भने कमाईको लागि विदेश नै जानु नपर्ने रहेछ ।” त्रियुगा नगरपालिका ११ की अप्सरा मगरले भन्नुभयो ।

कृषिलाई व्यावसायीकरण तथा बजारीकरण गर्न सके समृद्धिका लागि जागिर नै खान नपर्ने उदाहरण उहाँले देखाउनुभयो । ७ वर्ष अनमीको जागिर अनुभव रहेकी उनको अवका दिनमा पनि कृषिलाई नै निरन्तरता दिने योजना उहाँको छ । “अब, कृषि नै गर्ने भावी योजना बनाएकी छु ।” उहाँले भन्नुभयो “जे सोचेर कृषिमा हात हालेको थिएँ, त्यो पूरा हुँदै गएको छ ।

कतिपयले पहिले सहयोग र अनुदान खोजेर कृषिखेती गर्ने गर्दछन् भने कसैको आश नगरी आफ्नै हिसाबले थाल्नुभएको कृषि फार्म अहिले त्रियुगा नगरपालिकाको नजरमा परेको छ । मेयर बलदेव चौधरीले उदाहरणीय काम भएको भन्दै नगरपालिकाको तर्पmबाट कृषि अनुदान, सिंचाइका लागि सहुलियत विद्युत आदि सहयोग गर्ने बताउनुभयो ।
राईको कृषि फार्म त्रियुगा नगरपालिकाभरिकै उदाहरणीय रहेको स्थानीय राजेन्द्र चामलिङले बताउनुभयो ।