फिचर | पढ्नै पर्ने |

नेपालगञ्ज मेडिकल कलेजमा तीन जना सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालियो

सिराज खान
नेपालगञ्ज, वैशाख २२ गते । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा एकसाताको अवधीमा तीन जना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ । नेपालगञ्ज मेडिकल कलेजले बुधवार एक विज्ञप्ती जारी गरेर दिएको जानकारी अनुसार संक्रमित भै जटिल अवस्थामा पुगेका तीन जना महिलाको कोहलपुरमा सफल शल्यक्रिया गरेर बच्चा जन्माईएएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहनिर्देशक डा नितेश कनोडियाले पछिल्लो पटक भूमी–४ रुकुमकी ३२ वर्षीया सङ्क्रमित महिलाको शल्यक्रियामार्फत बच्चा (छोरी) निकालिएको बताउनुभयो ।
उहाँका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला बैशाख २० गते राती ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् ।
ती महिलाको अवस्था जटिल हुन थालेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा कविता सिन्हाले बताउनुभयो । उहाँका अनुसार बच्चाको तौल २ दशमलव ७ किलो छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताउनुभयो ।
सो शल्यक्रियामा डा सिन्हासहित प्रोफेरस डा मीता सिन्हा, डा गोमा रिमाल, डा शैलेन्द्र शाक्य, डा श्यामानन्द शाह, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्वि महरालगायतको टोली सहभागी थियो ।
सोही प्रकारले उक्त अस्पतालमै सुर्खेत भेरीगंगा नगरपालिका ११ की २२ वर्षीया सङ्क्रमित गर्भवति र नेपालगन्ज उपमहानगरपालिका ६ की ३२ वर्षीया सङ्क्रमित गर्भवतीको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।
डा. कनोडियाका अनुसार मेडिकल कलेजमा अहिले तीन जना सङ्क्रमित सुत्केरी हुनुहुन्छ ।
यस्तै गर्भपतनपछि रक्तश्राव नरोकिएकी एक अर्का महिला पनि अस्पताल भर्ना भएकी छिन् । उनी पनि कोभिड पोजेटिभ हुन् । अस्पतालका अनुसार, २४ हप्ताकी अर्की गर्भवती पनि सङ्क्रमित छिन् । उनी पनि अस्पताल भर्ना भएकी छिन् ।
अस्पतालका अनुसार अस्पतालमा उपचाररत उनीहरु सबैको अवस्था सामान्य छ । गएको बर्ष सो अस्पतालमा चारजना सङ्क्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालका सह निर्देशक डा. कनोडियाले बताउनुभयो ।