फिचर | पढ्नै पर्ने | प्रदेश |

हेटौँडामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचनको तयारी अन्तिम चरणमा

राममणि दाहाल
हेटौँडा, जेठ ५ गते । हेटौँडामा बिहिबार हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, सुरक्षालगायतका व्यवस्था गरिएको छ । मतदान स्थलमा मतदान केन्द्रको व्यवस्था, स्वास्थ्य सावधानी अपनाएर मतदान गर्ने, मतदान स्थलको सुरक्षालगायतका काममा निर्वाचनमा संलग्न कर्मचारी खटिएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा अनिवार्य गर्दै कोभिड १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । कोभिड १९ सङ्क्रमित प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्नका लागि छुट्टै मतदान केन्द्र व्यवस्था गरी मतदान केन्द्र (ग) थप गरिएको निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
मतदान स्थलमा यसअघि प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै दुई वटा मतदान केन्द्र तोकिएको थियो ।
मतदान स्थलमा कोभिड १९ सङ्क्रमितका लागि छुट्ट प्रवेशद्वारासँगै मतदान गर्दा दुरी कायम गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।
यस्तै उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा अनिवार्य गरेको आयोगले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र प्रवेश गर्न अनिवार्य गरेको छ । उपनिर्वाचनका केही मतदातासमेत कोरोना सङ्क्रमित रहेको पाइएको छ । मतदान स्थलमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
मतदानस्थलमा साबुनपानीले हातधुने, स्यानिटाइजरको प्रयोग र मास्क लगाएरमात्र प्रवेश गर्ने व्यवस्था गरिनुका साथै मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक, सुरक्षाकर्मी र मतदान प्रतिनिधिहरुले अनिवार्य रुपमा पीपीईको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सङ्घीयता विद् देवकोटा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा उम्मेदवारी दिनुभएको हो ।
बागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी बन्नुभएका थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले थापालाई कारबाही गरी राष्ट्रियसभा सदस्य पद रिक्त गराएको हो ।
बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता भएको छ । बागमती प्रदेशको प्रदेश सभा सदस्य १०९ जना रहेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतादाता रहने छन् ।