फिचर | पर्यटन |

परम्परागत खडाई प्रयोग गरि सिँगारिदै अमलटारी होम स्टे

ज्ञानु पंगेनी
कावासोती , जेठ ८ गते । सामान्य अवस्थामा यतिबेला पाहुँनाको भरिभराउ हुने यहाँको पूर्वी नवलपरासीको कावासोती – १५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे अहिले सुनसान छ ।
कोभिड – १९ संक्रमणका कारण अहिले विश्व नै महामारीको चपेटामा परेका कारण पर्यटन व्यवसाय ठप्प छ ।

गत वर्ष पनि करीब ८ महिना व्यवसाय ठप्प हुँदा ठूलो नोक्सान व्यहोरेका यहाँका होम स्टे सञ्चालकहरु दोश्रो लहरको कोभिड – १९ सङ्क्रमणबाट पनि अछुतो रहन सकेनन् ।
विश्व नै अाक्रान्त बनेको अहिलेको परिस्थितिमा पीर लिएर झोक्राएर बस्नुभन्दा केही सृजनात्मक काम गर्नुपर्छ भन्ने सोँचका साथ होम स्टे सञ्चालकहरुले साँस्कृतीक भवन र सङ्ग्रहालयलाई सिँगार्न लागिपरेका छन् ।

कोभिडका कारण निषेधाज्ञा समेत छ । पाहुना नआएको समयलाई सदुपयोगसँगै आफ्नो कला संस्कृति झल्कने सृजनात्मक काम समेत हुने भएकाले स्वास्थ्य सर्तकता अप्नाएर काम गरिएको होम स्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिनुभयो । यहाँ थारु , बोटे , माझी, मुसहर समुदायले सञ्चालन गरेको ३१ घर होम स्टे छन् । यी समुदायको परम्परागत घर निर्माण गर्ने खडाईको प्रयोग गरेर अहिले सांस्कृतिक भवनको भित्ता र पोलहरुमा विभिन्न आकृतिसहित सिँगार्ने काम जारी छ ।

यस्तै सङ्ग्रहालयका भित्ताहरुमा समेत खडाई प्रयोग गरेर सिँगारिएको छ । होम स्टे मौलिक र कला संस्कृतिले भरिपूर्ण हुनपर्छ भन्ने मान्यता हरेका कारण पनि आफूहरुले गत वर्षको लकडाउनपछि यो कामलाई निरन्तरता दिएको गुरौले बताउनुभयो ।

मास्क , सेनिटाईजरको प्रयोग गरेर काम भइरहेको गुरौले बताउनुभयो । भिडभाड नहोस् भन्नका लागि दैनिक १० जना मात्रै पालैपालो काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष ३१ वटै होम स्टे सञ्चालकहरुले आफ्नो आफ्नो पाहुना घरलाई व्यक्तीगत रुपमा आफैँ खडाईको प्रयोग गरेर सिगारेका थिए । यी समुदायको परम्परागत खपडाले पाहुना घरका छाना छाउने काम सम्पन्न भएको थियो । अहिले सामूहिक रुपमा सास्कृतीक भवन र सङ्ग्रहालय सिँगार्ने काम गरिएको गुरौले बताउनुभयो ।

निकुञ्जबाट स्वीकृत लिएर सामूहिक रुपमा नै खडाई काटेर ल्याइएको थियो । उक्त खडाईलाई सफा गरेर सानो – सानो चिरा बनाएर प्लाईउड र काँटीको प्रयोग गरेर नमस्ते , घडा तथा विभिन्न आकृतिसहित मौलिक पहिचान दिने काम गरिएको छ । प्रत्येक दिन होम स्टे सञ्चालकहरु आफैँ १० – १० जनाको समुह भएर श्रमदान गरिरहेका छन् । होम स्टे सञ्चालक तथा अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे का कोषाध्यक्ष चन्द्र बहादुर महतो पनि श्रमदानमा खटिनुभएको छ ।

खडाईको काम गर्न निकै गाह्रो हुने गरेको महतोले बताउनुभयो । एकदमै मसिनो काम भएकाले दिनभरिमा थोरै मात्रै काम गर्न सकिने महतोले बताउनुभयो ।उहाँ भन्नुहुन्छ – ‘यो समय आर्थिक वर्ष अन्त्य हुने समय थियो । यतिबेला यहाँ पाहुनाको भरिभराउ भएर भ्याईनभ्याई हुन्थ्यो तर , अहिले कोभिडका कारण सुनसान छ । ’ उहाँले थप्नुभयो – हामीलाई नोक्सान त धेरै नै भएको छ तर , त्यसैको पीर मानेर बसेर पनि त भएन, माहामारीको नियन्त्रणपछि पक्कै पनि फेरि पाहुनाहरु आउनुहुन्छ ।

हामीले अहिलेको नोक्सानलाई पक्कै उठाउने छौँ , भन्ने सोचेर खाली बसेको यो समय होम स्टेलाई मौलिकता प्रदान गर्न र लोप हुने अवस्थामा पुगेका हाम्रा परम्परा ,कला संस्कृतीको जगेर्ना गर्ने काममा लागेका छौँ । ’
कोभिड महामारी पूर्व यहाँका होम स्टे सञ्चालकहरुले प्रति घर सिजनका बेला ४० देखि ५० हजार आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । सिजन नहुँदा पनि पच्चीस तीस हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ ।