फिचर | पढ्नै पर्ने | फोटो फिचर |

तामाकोसी आयोजनाः म्यानहोलको चुहावट मर्मत सकियो, सुरुङमा पुनः पानी पठाएर परीक्षण सुरु

कैलाश लामा
चरिकोट, (दोलखा) जेठ १० गते । परीक्षणको चरणमा रहेको दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ मा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले सुरुङमा पुनः पानी पठाएर परीक्षण थालेको छ ।
निर्माण सुरु गरेको करिब १० वर्षपछि उत्पादनको अन्तिम चरणका पुगेको तामाकोसीले गत वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी हालेर परिक्षण कार्य सुरु गरेको भए तापनि म्यानहोलको ढक्कनबाट पानी चुहिएपछि परीक्षण रोकेर मर्मतमा लागेका थिए ।
म्यानहोलको ढक्कन मर्मत कार्य सकिएसँगै सोमबार विहान ५ बजेबाट मुख्य सुरुङमा पानी पठाएर सिभिल र हईड्रोमेकानिकल संरचनाहरुको परीक्षणको काम सुरु गरेकोतामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।
३७३ मिटरको तल्लो भर्टिकल र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्ट जोड्ने तेर्सो भागको पेनस्टक पाइपमा बनाईएको म्यानहोल अर्थात मानवद्वारको ढक्कनबाट पानी चुुहिएपछि परिक्षण रोकिएको थियो ।
९० डिग्रीको तल्लो र माथिल्लो ठाडो सुरुङ खन्नदेखि त्यसमा पेनस्टक पाईप राख्न कठिन भई ढिलाई हुँदानै आयोजनाको काम पटकपटक पछि धकेलिएको थियो ।
आयोजनमा कुल एक हजार एक सय ६५ मिटर पेनस्टक जडान भएको छ ।
जस्मा तल्लो ठाडो सुरुङ, माथिल्लो ठाडो सुरुङ र यी दुई सुरुङ जोड्ने तेर्सो सुरुङमा जडान गरिएको पेनस्टक पाईप आयोजनाकै जटिल कार्य मानिन्छ ।
परिक्षणको क्रममा माथिल्लो भर्टिकल साफ्टसम्मनै पनि भर्दा दुईवटै भर्टिकल साफ्टमा कुनै समस्या आएको छैन् ।
म्यानहोलको ढक्कनि मर्मतको काम सकिएकोले अवको परिक्षण माथिल्लो भर्टिकल सुरुङको अडिट गेट र भैंसे अडिट गेट सहित करिब ८ किलोटिर लामो सुरुङमा पानी भरेर गरिने प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।

त्यसमा कुनै समस्या नआएमा मुख्य सुरुङ र पेनस्टकमा भरिएको पानी एमएसओभीबाट बाईफरकेसनहुँदै ६ वटा युनिटहरुमा पठाइन्छ।
त्यसपछि पानीको प्रेसरले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।
यस क्रममा पहिलो युनिटबाट २०७८ साल जेठ भित्रै ७६ मेगावाट विद्युत उत्पादन सुरु हुने प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनामा७६–७६ मेगावाटका ६ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत उत्पादन हुने उहाँले बताउनुभयो ।