फिचर | पढ्नै पर्ने |

माधव पक्षका २३ जनाले गरे रिटपत्रमा हस्ताक्षर, चार जनाले हस्ताक्षर गर्न मानेनन्

लक्की चौधरी
काठमाडौं, जेठ १० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनः स्थापना गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपा (एमाले) बाट २३ जना पूर्व सांसदले रिटपत्रमा हस्ताक्षर गरेका छन् ।

नेता माधवकुमार नेपाल पक्षका पूर्व सांसदहरुले हस्ताक्षर गरेका हुन् । डडेल्धुरा निवासी पूर्व सांसद निरादेवी जैरुका अनुसार यसअघि २७ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिए पनि अहिले २३ जनाले हस्ताक्षर गर्नुभएको जानकारी दिनुभयो ।

यसअघि नेपाल पक्षमा रहनुभएका गोकर्ण विष्ट, योगेशकुमार भट्टराई, गणेशकुमार पहाडी, पवित्रा निरौला खरेलले रिटपत्रमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँहरु मूल पार्टी एमालेमा फर्किने तयारी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकले फर्कन चाहने नेताहरुलाई अन्तिम समयसम्म अवसर दिइने निर्णय गरेको छ ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले ११ जना पूर्व सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबारसम्म स्पष्टीकरण पेश गर्ने समय दिइएको भए पनि सो पक्षका पूर्व सांसदले स्पष्टीकरण पेश नगर्ने बताएका छन् । पूर्व सांसद मेटमणि चौधरीले स्पष्टीकरण पेश नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

आज अपरान्ह बस्ने स्थायी कमिटी बैठकले थप कारवाहीको निर्णय गर्ने बताइएको छ । त्यस्तै, मूलघरमा फर्कने नेताहरुलाई उचित स्थान दिने विषयमा पनि छलफल हुने बताइएको छ । माधव पक्षबाट रिटपत्रमा हस्ताक्षर गर्ने पूर्व सांसदहरुमा १) झलनाथ खनाल, २) माधवकुमार नेपाल ३) विरोध खतिवडा ४) भीमबहादुर रावल ५) झपट रावल ६) सुरेन्द्र पाण्डे ७) घनश्याम भुषाल ८) जीवनराम श्रेष्ठ ९) सोमप्रसाद पाण्डे १०) कृष्णलाल महर्जन ११) निरादेवी जैरु १२) सरला यादव १३) कल्याणी खड्का १४) लक्ष्मी चौधरी १५) रामकुमारी झाँक्री १६) कलिला खातुन १७) पुष्पाकुमारी कर्ण १८) यज्ञ सुनुवार १९) भवानीप्रसाद खापुङ २०) मुकुन्द न्यौपाने २१) मेटमणि चौधरी २२) दीपकप्रसाद भट्ट २३) नारायण खतिवडा रहनुभएको छ ।