फिचर | खुला |

सगरमाथाको चौथो क्याम्पमा वर्षाैदेखि रहेका दुई शव काठमाडौँ ल्याइयो

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ११ गते । सगरमाथा हिमालमा चौथो क्याम्पमा वर्षाैदेखि रहेका दुई वटा शव काठमाडौं ल्याई व्यवस्थापन गरिएको छ । सफा हिमाल अभियान २०२१ कार्यक्रम अन्तरगत सगरमाथा सफाइमा खटिएका शेर्पा गाइडहरुले ८००० मिटरबाट शवलाई आधारशिविर ल्याई हेलिकप्टरबाट काठमाडौँ ल्याएर व्यवस्थापन गरेको नेपाली सेना सहायक रथी हिमांशु खड्काले बताउनुभयो ।

हिमाल सफाइको व्यवस्थापन र अनुगमन जिम्मा लिएको सेनाले छ वटा हिमालको सफाइ गर्ने गरी काम अघि बढाएको थियो । सन् २०१९ मा आरोहण सम्पन्न गरी फर्कके क्रममा मृत्यु भएका अमेरिकी आरोही ६२ वर्षीय कृस्तोफेर कुलिस र पहिचान नभएको अर्को शव काठमाडौं ल्याएर व्यवस्थापन गरेको खड्काले जानकारी दिनुभयो । शेर्पा गाइडहरुका अनुसार अझै पनि सगरमाथाको तेस्रो क्याम्प भन्दा माथि दर्जन भन्दा बढी शव रहेको जनाएको छ ।

पर्वतारोहण सम्बन्धी नियामवली, २०५९ ले पर्वतारोहणका क्रममा हिमालमा मृत्यु भएका आरोही तथा कामदारको शव आयोजना गर्ने सम्वन्धित एजेन्सीलेनै गर्नु पर्ने हुन्छ । तर मृत्यु भएको जानकारी प्राप्त भए पनि पर्यटन विभागले नियमन र एजेन्सी माथि कारवाही नगर्दा हिमालैभरी शव थुपि्रदै आएको छ । दुई वर्ष अघि पनि सरकारले सगरमाथा क्षेत्रबाट चार वटा शव काठमाडौं ल्याएर व्यवस्थापन गरिएको थियो । त्यस समय एउटा शव काठमाडौं ल्याएर व्यवस्थापन गर्न १५ भन्द बढी खर्च भएको थियो ।

यस वर्ष हिमाल सफाइका लागि सरकारले नेपाली सेनालाई १० करोड रुपैयाँ विनियोजन गरी दिएको थियो । सेनाले केही शेर्पा गाइडहरुलाई प्रयोग गरेर आधारशिविर र त्यस भन्दा माथिका क्षेत्रमा हिमाल सफाइ गरेको सेनाले जनाएको छ ।
हिमाल सफाइकै क्रममा आमादब्लम हिमालबाट संकलन गरीएको ६,१९० किलो फोहोर संकलन गरेको छ । यस “सफा हिमाल अभियान २०२१” अन्तर्गत् विभिन्‍न ६ वटा हिमालहरुबाट आज सम्म २६,२९७ किलो फोहोर संकलन गरिसकिएको सेनाले जनाएको छ । यस अघि धौलागिरी हिमालबाट समेत एउटा शव ल्याई व्यवस्थापन गरिएको थियो ।