फिचर | पढ्नै पर्ने |

जमुनाह नाकामा दैनिक दुई हजारकाे कोरोना परीक्षण,फर्कने क्रम जारी

सिराज खान
नेपालगञ्ज, जेठ १२ गते । कोरोनाको दोस्रो लहरका कारण भारतबाट यहाँस्थित जमुनाह नाका भएर नेपाल फर्किनेहरुको ज्वरो मापन र कोरोना परीक्षण निरन्तर जारी  छ ।
चैत ११ गतेदेखि हालसम्म भारतबाट नेपाल फर्किएका ८३ हजार २२५ जनामध्ये २ हजार ३२ जनाको नाकामै एन्टिजिनमार्फत कोरोना परीक्षण गरिएकोमा २२२ जनामा संक्रमण पुष्टि भएको जमुनाहस्थित हेल्थ डेस्कले जनाएको छ ।
नेपाल भारत नाकामा रहेको सो हेल्थ डेस्कका प्राविधिक चिरन्जीवी ज्ञवालीले चैत ११ गतेदेखि हालसम्म भारतका अत्याधिक कोरोना प्रभावित सहरहरुबाट फर्किएका ८३ हजार २२५ जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा ज्वरो भएका तथा अन्य कारणले शङ्का लागेका २ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको बताउनुभयो ।
उहाँले ती परीक्षणमा २२२ जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै उनिहरुलाई सिधै आइसोलेसनमा पठाइएको बताउनुभयो । सो अवधीमा १७ सय ९ जनाको मलेरियासमेत परीक्षण गरिएकोमा कसैलाई पनि मलेरिया पुष्टि नभएको प्राविधिक ज्ञवालीले बताउनुभयो ।
भारतबाट फर्किनेहरुको सीमा नाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० बेडको आइसोलेसन वार्ड सञ्चालन गरिएको छ ।
भारतमा सङ्क्रमणले भयावह रुप लिएपछि त्यहाँका अधिकांश सहरमा कोरोना कर्फ्यु  लगाइएकोले गत डेढ महिनादेखि ठूलो सङ्ख्यामा नेपालीहरु जमुनाह नाका भएर स्वदेश फर्किरहेका छन् ।
सीमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले दोस्रो चरणको कोरोना लहर शुरु भएयता मात्रै यो नाकाबाट हालसम्म ८३ हजार २२५ जना नेपालीहरु नेपाल फर्किएको बताउनुभयो ।
उहाँले भारतमा अधिकांश सहर बन्द गरिएपछि दैनिक दुई हजारदेखि ३ हजारसम्म नेपालीहरु यो नाका भएर स्वदेश फर्किएको बताउनुभयो । हाल पनि दैनिक १५ सयको हाराहारीमा नेपालीहरु फर्किरहेको बताउनुभयो ।
भारतबाट फर्किनेहरुको लगत सङ्कलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि जमुनाह नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको थियो ।
धेरै ठूलो सङ्ख्यामा नेपालीहरु सो नाकाबाट फिर्ता भैरहेकोले सीमित जनशक्तिको भरमा नेपाल भित्रिनेको लगत सङ्कलनका साथै स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण  भैरहेको हेल्थडेस्कले जनाएको छ ।