फिचर | पढ्नै पर्ने |

सामाजिक सञ्जालमा आएका नागरिकता वितरणसम्बन्धी पोष्टहरु आधारहीन: जिप्रका पर्सा

दीपकप्रसाद गौतम
वीरगञ्ज, जेष्ठ १२ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमा आएका नागरिकता वितरण सम्बन्धी विभिन्न पोष्टहरु आधारहीन रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भिमकान्त पौडेलले जेष्ठ १२ गते बुधबार एक विज्ञप्ती जारी गर्दै वीरगञ्जमा नागरिकता लिनेको भीड रहेको र त्यसमा भारतीय नागरिकहरु पनि सामेल रहेको भनी समाजिक सञ्जालमा आएका पोष्टहरु आधारहीन रहेको जनाउनुभएको हो ।
जारि गरिएको विज्ञप्तीमा कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘२०७८ बैशाख १६ गतेदेखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हालसम्म जारी रहेको छ। निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ। तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । ’
त्यस्तैगरी विज्ञप्तिमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र सङ्क्रमणको श्रृंखला तोड्न निषेधाज्ञा रहेको प्रष्ट्याइएको छ। ‘यस बीचमा निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एवम् आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एवम् अनुरोध गरिन्छ,’ भनी लेखिएको छ ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले सोमबार साँझ वीरगञ्जमा नागरिकता लिनेको भीड लागेको र त्यसमा भारतबाट आउनेको सङ्ख्या ठूलो रहेको समाचार आयो भन्दै ट्विटरमा लेख्नु भयो त्यसपछि उहाँको त्यो ट्वीट र नागरिकता वितरणको विषय सामाजिक सञ्जालमा चर्चामा आएको हो । उक्त ट्वीटमा अगाडि लेखिएको थियो ‘प्रम केपी शर्माको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता बिदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई होकी? नेपाली जनतालाई जवाफ चाहियो। सम्पुर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं,’ । नेकपा एमालेका नेता पूर्वमन्त्री रावलले मंगलबार बिहान उक्त विवादास्पद बनेको ट्वीट हटाउनु भएको थियो ।