फिचर | स्वास्थ्य | प्रदेश |

कोरानाबाट ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापन सहज

नारायण अधिकारी

चितवन, जेठ  १४ गते । कोराना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ । चितवन सहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ । महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि हालसम्म ७४ सङक्रमतिका शव व्यवस्थापन गरिएको छ । तीमध्ये चार शवको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । ती मध्ये दुई शव गाढिएको छ ।    
    
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शव वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ । लायन्स क्लवले थप एक शववाहन उपलब्ध गराएको छ । संघीय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उहाँले जानकारी दिनुभयो ।यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो । वागेश्वरी स्थित नारायणी किनारमा शव व्यवस्थापन गरिदैं आइएको छ ।    
    
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिवहादुर गण र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको जानकारी दिनुभयो । शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसारमा ती निकायले समन्वयात्मक क सहयोग गर्दैआएका छन् । खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको वागेश्वरीवाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन् ।    
    
गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४० शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ । जिल्लाका अस्पतालमा ४ सय ८६ को मृत्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन । उहाँले सबैको सहकार्यमा शव व्यवस्थापन सहज बनेको बताउनुभयो ।    
    
शव विहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिदैं आएको छ । होम आइसोलेशनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ । गणपति खनालका अनुसार घरमा शव उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ । वरिष्ठ पत्रकार ईश्वर जोशीले सङ्क्रमणबाट मृत्युभएका आफ्नो दाजुको शव व्यवस्थापनमा समस्या नआएको जानकारी दिनुभयो ।