फिचर | प्रदेश |

ज्येष्ठ नागरिकको सहारा सामाजिक सुरक्षा भत्ता

मनोज भट्टराई
ओखलढुंगा, जेठ १६ गते । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको खबर सुनेपछि भट्टराई र रम्तेलका बुढापाकाहरू खुशी भएका छन् ।
मासिक तीन हजारका दरले भत्ता बुझिरहेका वृद्धवृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् ।

ओखलढुंगाको लिखु गाउँपालिका वड नंं ६ की पद्म कुमारी भट्टराई निकै खुसी हुनु भएको छ । शनिबार दिउँसो भएको बजेट भाषणका कारण उहाँको खुसीको सिमा नै छैन । आईतबार बिहान नै आफनो घर भएरबाटो हिड्नेहरुलाई उहाँ ए नानी अव हामीलाई सरकारले नै पाल्ने भयो नी भन्दै सुनाई रहनु भएको थियो । उहाँ आफ्नो पेन्सन बढ्यो भन्दै खुसी हुनु भएको छ ।

आफ्नो सक्रिय जीवन सामान्य खेतीपाती मै बिताउनु भएको उहाँलाई अशक्त हुँदै गए पछि राज्यले दिदै गरेको सामाजिक सुरक्षा भत्ता बढेपछि अव आफुलाई खान लाउनका लागि ढुक्क भएको बताउनु हुन्छ ।
उहाँ जस्तै लिखु गाउँपालिका वडा नं. ६ कै भमाया रम्तेल आफ्नो भत्ता बढेको खवरले गद्गद हुनु भएको छ ।

उमेर हुनजेल अरुकोमा काम नगरे विहान खाए बेलुकी केखाउँ हुन्थ्यो तर अहिले आफुलाई सरकारले पालेको उहाँ बताउनु हुन्छ । उमेर छँदै श्रीमानले अर्को श्रीमती लिएर हिडेकाले बेसहरा जस्तै भएकी म जस्ता नागरीकलाई सरकाले भत्ता बढाए पछि ढुक्क भएको उहाँ बताउनु हुन्छ ।

सरकारले भत्ता बढाएको खबर छिमेकीबाट थाहा पाउनुभएका लिखु गाउँपालिका वडा नं. ६ का दलपद्मा हादुर भुजेल पनि निकै खुशी हुनु भएकोे छ । उहाँ आफ्नो उमेर हुनजेल अर्काको मै काम गरेर जीवन धानेको तर अहिले असक्त भए पछि सरकारले हेरेकोमा खुसी रहेको बताउनु हुन्छ ।

मासिक ३ हजार रुपियाँ बुझ्दै आएका बृद्धबृद्धाहरु मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त आफुहरुको भत्ता बढेकाले तिमीहरुले केही दिन पर्दैन आफ्नोलागि खर्च सरकारले दियो भन्दै खुसी भएका छन् ।
भुजेलले मनमोहन अधिकारीले दिएको १०० रुपैंया अहिले ४ हजार पुगे पछि सरकारलाई धन्यवाद समेत दिनुभएको छ । विसं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला वृद्धभत्ता कार्यक्रम थालनी भएको थियो । वृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।