फिचर | पढ्नै पर्ने | फोटो फिचर |

भग्नावशेषमा परिणत नेपालको पहिलो दुग्ध चिस्यान केन्द्र

केदार तिमल्सिना
बनेपा, जेठ १८ गते । नेपालमा विश्व दुग्ध दिवस मनाउन सुरु भएको मङ्गलबार एक दशक पुरा भएको छ । नेपालमा वि.सं. २०६८ साल जेठ १८ गतेदेखि विश्व दुग्ध दिवस मनाउन सुरु गरिएको हो । दुग्ध दिवस मनाउन सुरु गरेको एक दशक भएता पनि नेपाल कै पहिलो दुग्ध चिस्यान केन्द्र भग्नावशेषमा परिणत भएको छ भने पहिलो दुग्ध चिस्यान केन्द्र ओझेलमा परेको छ भने अहिलेसम्म यसको कुनै प्रचारप्रसार समेत हुन सकेको छैन ।
स्वीट्जरल्याड सरकारको सहयोगमा काभ्रेको तत्कालीन उग्रचण्डी नाला–१ (हाल बनेपा ४) मा निर्माण भएको नेपाल कै पहिलो दुग्ध चिस्यान केन्द्र भग्नावशेष भएको तीन दशकभन्दा बढी समय भएपनि यसको प्रचारप्रसार हुन नसकेको भन्दै स्थानीयबासी तथा दुग्ध अभियानमा लागेका व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । स्विस सरकारले वि.सं. २००९ सालमा करोडौ रुपैँया लगानी गरेर नालामा नेपाल कै पहिलो चिसापानी दुग्ध चिस्यान केन्द्र स्थापना गरेको थियो । वि.सं. २००९ सालमा केन्द्र स्थापनाको काम सुरु गरिएपनि वि.सं. २०११ सालमा केन्द्रको निर्माण सम्पन्न भएको स्थानीयबासी बताउँछन् । केन्द्र निर्माण भएको करिब तीन दशकपछि अर्थात् २०४२ सालतिर दुग्ध चिस्यान केन्द्र बन्द भएको स्थानीयबासी बताउँछन् ।
स्विस सरकारले करोडौँ रुपियाँ रकम खर्चेर निर्माण गरेको केन्द्रका दुई वटा भवन भत्केर भग्नावशेषमा परिणत हुनुको साथै केन्द्र बन्द भएपछि त्यहाँ रहेका सामान तथा मेसिनहरु रातारात चोरी भएका थिए । तत्कालिन अवस्थामा केन्द्र रहेको स्थानमा अहिले घाँस, झारपात पलाएको छ भने भएका मेसिन पनि जिर्ण बनेका छन् । केन्द्रिय दुग्ध सहकारीका पूर्व कोषाध्यक्ष तथा सहकारी अभियान्ता दिपकप्रसाद पौडेलले अरनिको राजमार्ग निर्माण भएपछि दुग्ध विकास संस्थानले काभ्रेको बनेपामा संस्थानको शाखा कार्यालय स्थापना गरेपछि नालमा रहेको दुग्ध चिस्यान केन्द्र बन्द हुन पुगेको बताउनुभयो । उहाँले तत्कालिन अवस्थामा नालामा यातायातको सहजता नभएका कारण पनि उक्त केन्द्र बन्द हुन पुगेको बताउनुभयो ।
सहकारी अभियान्ता पौडेलले देशमा दुग्ध दिवस मनाइरहँदा दुग्ध विकास संस्थान, दुग्ध विकास बोर्डलगायतका सम्बन्धित निकायले नेपालको पहिलो चिस्यान केन्द्रको खोजी गरी त्यसको प्रचारप्रसार गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । ‘नालामा स्थापना भएको नेपालको पहिलो दुग्ध चिस्यान केन्द्रको बारेमा सम्बन्धित पक्षले खोजी गरी यसको प्रचार गर्नु जरुरी देखिन्छ’ उहाँले थप्नुभयो ।
अरनिको राजमार्ग खुलेपछि दुग्ध विकास संस्थानले बनेपामा चिस्यान केन्द्र स्थापना गर्नुको साथै गाउँगाउँमा दुग्ध सङ्कलनका लागि कर्मचारी खटाएको र संस्थानले केन्द्रको अपनत्व नलिएका कारण केन्द्र बन्द भएको स्थानीयबासी तथा पशु चिकित्सक मणीप्रसाद सापकोटाले बताउनुभयो । उहाँले आफुले उक्त स्थानको प्रचारपप्रसार तथा संरक्षणको लागि पटक÷पटक प्रयास गरेपनि कुनै निकायबाट सहयोग नपाएको गुनासो गर्नुभयो । सापकोटाले निर्वाचनको समयमा विभिन्न राजनीतिक दलले नेपालको पहिलो दुग्ध चिस्यान केन्द्रलाई सङ्ग्राहलयको रुपमा विकास गर्ने घोषणा पत्रमा उल्लेख गरेपनि हालसम्म कुनै काम हुन नसकेको बताउनुभयो ।
सो चिस्यान केन्द्रको लागि आवश्यक पर्ने सम्पूर्ण मेसिन तथा सामाग्री स्विजरल्याण्डबाट नै ल्याइएको थियो । तत्कालिन अवस्थामा यातायातको सुविधा नभएका कारण केन्द्रमा संकलन भएको दुधलाई चिस्याई रातारात भरिया लगाई भक्तपुरको खरीपाटीमा पु¥याई त्यहाँबाट गाडी मार्फत लैनचौर लैजाने गरिएको थियो । हालपनि सो चिस्यान केन्द्रको नाममा केहि व्यक्तिहरुले डेरी संचालन गरिरहेको स्थानीय श्याम सापकोटाले बताउनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. बिमलकुमार निर्मलले नालमा रहेको नेपालको पहिलो दुग्ध चिस्यान केन्द्रको प्रचारप्रसार तथा यसलाई के गर्ने भन्ने विषयमा मन्त्रालयको कुनै योजना तथा कार्यक्रम नभएको बताउनुभयो ।