फिचर | पढ्नै पर्ने |

बिष्ट दाजुभाइकाे स्याउ मोह: गाउँपालिकाकै नमुना स्याउ बगैँचा

प्रेमराज सिम्खडा
कालीकोट, जेठ ३० गते । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ साविकको कोटवाडा गाबिसका बिष्ट दाजभाइ पछिल्लो समय स्याउखेतीमा निकै कम्मर कसेर लागेका छन् । नरहरिनाथ गाउँपालिका भित्र समावेश पाँच वटै साविकका गाउँबिकास समितिमा स्याउ खेती गर्ने चलन थिएन । तर पछिल्लो समय अग्रवहादुर बिष्ट सुनिल र मानबहादुर बिष्ट राजेन्द्र दुवै दाजुभाइले स्याउ खेती गर्न थालेपछि गाउँका अरु पनि स्याउखेतीमा होमिएका छन ।
दश वर्षे द्वन्द्वमा सहभागी भएका बिष्ट दाजुभाइले ब्यवहारिक शिक्षाको प्रतिफल देखाउनका लागि पनि कृषि खेती अन्तर्गत फलफू खेतीमा लागेको प्रतिक्रिया दिएका छन ।
मानवहादुर बिष्टको वगैँचामा अहिले बिभिन्न उमेर समूहका चार सय स्याउका बिरुवा छन् । तीन वर्षदेखि नौ वर्ष सम्मका स्याउका बिरुवा बिष्टको वगैँचामा देख्न पाइन्छ । यस्तै अग्रहवहादुर बिष्टको बगैँचामा २५० बिरुवा हुर्किरहेका छन ।
२०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फवाट गाउँपालिका अध्यक्षका प्रत्यासी बिष्टले मकै रोप्ने सबै पाखो जग्गामा स्याउखेती गर्नुभएको छ । सशस्त्रद्वन्द्वमा सहभागी हुदा जुम्ला, कालीकोटको रास्कोट क्षेत्रमा उत्पादन भएको स्याउ देखेर आफू प्रभावित भएको बिष्टको भनाइ छ । ११ वर्ष अगाडि चार वटा स्याउका बिरुवा ल्याएर वारीमा रोपेको थिएँ । बिरुवा राम्रो भए । अनि २०६९ सालमा भाई राजेन्द्र र आफूले सल्लाह गरेर अलि बढी स्याउका बिरुवा रोप्ने योजना बनायौँ । मकै पनि रोप्न मिल्ने भएकाले मकै लगाउने वारीमै स्याउ लगायौँ र राम्रो हुदै गएपछि प्रत्येक वर्ष थप बिरुवा रोप्दै आउदा आफ्नो बारीमा दुईसय ५० भन्दा वढी बिरुवा हुर्केको अग्रहवहादुर बिष्टले वताउनुभयो ।
मानवहादुर बिष्टको बारीमा भने चार सय बिरुवा छन । स्याउ यसपालि निकै फलेका र सबै गरेर वगैँचामा एक लाख खर्च भएको छ । सबै खर्च अब यसपालिकाको स्याउ बिक्री गरेर असुल गर्ने मानवहादुरको योजना छ । मानवहादुरले गत वर्ष पहिलो पटक फलेको स्याउवाट २० हजार आम्दानी गरेको सुनाउनुभयो । एक रुखमा दुई चार दान मात्र थिए । अहिले त एकै रुखले ४० हजार भन्दा बढी आम्दानी गर्ने भएकाले लगानी एकै वर्षमा असुल हुन्छ भन्ने कुरामा मानवहादुर बिष्ट ढुक्क हुनुहुन्छ ।
बिष्ट दाजुभाइको बगैँचा देखेर कोटवाडाका अरु नागरिकले पनि स्याउखेती गर्न थालेका छन् । पूर्व गाउँविकास समितिका अध्यक्ष नरवहादुर बिष्टका साथै गाउँका मनवहादुर बिष्ट, गणेश बिष्ट लगाएतले कोटवाडामा स्याउखेती गरिहेका छन । बगैँचा हुर्काएर स्याउ फलाउन थालेका मानवहादुर बिष्टले गत वर्ष कर्णाली प्रदेश सरकारवाट मुख्यमन्त्री कृषक पुरुस्कार समेत पाईसक्नु भएको छ । बिष्ट दाजुभाइको स्याउ मोहले गर्दा गाउँमा अरु पनि स्याउखेतीमा जुटिरहेका छन । स्याउ फल्ने राम्रो माटो भए पनि फल्छ फल्दैन भनेर कसैले प्रयास नगरेकै कारणले यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका भित्रका पाँच वटै गाविसमा स्याउ लगाउने चलन थिएन ।