फिचर | विचार/दृष्टिकोण |

अक्सिजन प्लाण्ट स्थापना नयाँ पाइला - प्रधानमन्त्री केपी शर्मा ओली

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ३० गते रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्टको शिलान्यासमा गर्नुभएको सम्बोधनको पूर्णपाठ)

आज हामीले एउटा बहुतै महत्वपूर्ण कामको शिलान्यास गरेका छौं । अक्सिजन प्लान्ट उद्योग स्थापना आजका लागि मात्रै होइन, भोलिका लागि, स्वास्थ्य क्षेत्रसँग मात्रै होइन, उद्योग व्यवसायका लागि, उद्योग व्यवसायका लागि मात्रै होइन, व्यापार समेत अनेकका लागि असाधारण महत्व रहेको छ । यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु र निर्धारित एक वर्षको समयभित्र यस कारखाना स्थापनाको कार्य सम्पन्न हुन सकोस् । लिक्विड अक्सिजन उत्पादन होस् र जनताको जीवनका लागि, विरामीका लागि अस्पतालहरुले प्रयोग गर्न सकून् । यसमा शुभकामना व्यक्त गर्न चाहन्छु । लगानीकर्ताको यो लगानी अरु क्षेत्रकोे लगानी जस्तो मात्रै होइन, मानव जीवनसँग प्रत्यक्ष जोडिएको अक्सिजन उत्पादन गर्ने भएकाले यस प्लान्टको उत्पादनबाट श्वासप्रश्वास, निमोनियालगायत अन्य विरामीहरु सबैलाई आवश्यकता अनुसार जीवन प्रदान गर्नेछ र उत्पादकलाई पनि यसले सन्तुष्टि प्रदान गर्नेछ, मैले विश्वास लिएको छु ।
आज यतिबेला यस कारखानाको स्थापनाका लागि हामीलाई एउटा बहुतै विकट भयावह परिस्थितिले प्रेरित गरेको छ । कोभिड १९ को महामारी, जुन विश्वव्यापी महामारी हो । जसबाट हामी सबै नै हाम्रो देश र बाँकी दुनियाँ आक्रान्त रहेको छ । यस्तो बेलामा अचानक आएको दोस्रो लहरले हामीलाई अक्सिजनको अभाव, सिलिन्डरको अभाव, औषधिको अभाव जस्ता अनेकौं अभावबाट ग्रस्त बनायो । त्यतिबेला हामीले अक्सिजन सिलिन्डरहरु अत्यन्तै महँगो मूल्यमा पनि किन्यौं । त्यसबेला हामीलाई लिक्विड ग्यास प्राप्त गर्न वा ग्यासको उत्पादन र आपूर्तिबीचको ग्यापलाई पूरा गर्न असाधारण मेहनत गर्नुप¥यो । अरु स्वास्थ्यसम्बन्धी आपूर्ति अचानक बढेको असाधारण माग, त्यसलाई सम्बोधन गर्नका लागि हाम्रा साधन स्रोतहरु पर्याप्त भएनन्, हाम्रा संरचना पर्याप्त भएनन् । त्यस्तो अवस्थामा सबैभन्दा बढ्ता हामीलाई खड्किएको कुरा हामीले पर्याप्त मात्रामा अक्सिजन आपूर्ति गर्न नसक्ने खालको स्थिति बन्यो । त्यस स्थितिलाई अन्त्य गर्न हामीले भारतबाट अक्सिजन आयात गर्ने, कन्सन्टेटर विभिन्न देशबाट आयात गर्ने, सिलिन्डरहरु आयात गर्ने, अन्य उपकरणहरु आयात गर्ने अनेक काम ग¥यौं ।
यसै प्रसंगमा हामी यस उद्योगको स्थापनाका लागि प्रयास गर्नेतर्फ पनि गयौं । हरेक एक सय बेड वा सोभन्दा माथिका बेड रहेका अस्पतालहरु आफैँले पनि अनिवार्य रुपमा अक्सिजन प्लान्ट राख्नुपर्ने भनिएको छ र त्यसले पनि अपर्याप्त हुनसक्ने रहेछ । तसर्थ हामी छुट्टै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्ने निष्कर्षमा पनि पुग्यौं । यस काममा प्रयास गर्ने, पहल गर्ने र अप्ठ्यारो परिस्थितिमा देशप्रति अत्यन्तै उत्तरदायित्व बोधका साथ, जिम्मेवारी बोधका साथ, मानवीय भावनाका साथ कम्मर कोसेर लाग्नु हुने उद्यमी शंकर अग्रवालजीलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु । उहाँले जतिबेला कोभिड १९ को दोस्रो लहर अत्यन्त तीव्रताका साथ उचाईंमा चढिरहेको थियो । त्यसबेला उहाँका प्रयासहरु निजी क्षेत्रबाट भएका प्रयासहरुमा एउटा सराहनीय, उल्लेखनीय र प्रशंसायोग्य प्रयास थियो । यसै सन्दर्भमा उहाँले अहिले लिक्विड ग्यास प्लान्ट जसमा ६० मेट्रिक टन प्रतिदिन अर्थात् सातहजार ठूला सिलिन्डरहरु भर्न सकिने स्थापना गर्ने अठोट लिनुभयो र काम अगाडि बढाउनुभयो । आज हामी त्यस कामको विधिवत शुरुवातको बिन्दुमा आइपुगेका छौं । अब यसलाई समयभित्र पूरा गर्ने र अगाडि बढ्ने आवश्यकता छ ।
यतिबेला म कोभिड १९ को महामारीबाट जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्छु । उहाँहरुका परिवारजनमा समवेदना व्यक्त गर्दछु । यसबाट अभिभावकविहीन भएका बालबालिकाका सम्बन्धमा के गर्नु पर्छ, के गर्न सकिन्छ, त्यसका निम्ति पनि विचार विमर्श भइरहेको छ । यस सम्बन्धमा हामी अध्ययन गर्दैछौं र आवश्यक कदम चाल्नेछौं ।
आज यस उद्योगको शिलान्यास भएको छ । यस कामलाई सफल बनाउनका लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोग भन्सार छुटलगायतका सहुलियतहरु के कस्तो दिन सक्छ, त्यस सम्बन्धमा सरकार गम्भीर छ र गम्भीरतापूर्वक सोचिरहेको छ । यस उद्योगको सफल स्थापना भइसकेपछि यसको सञ्चालनबाट एउटा प्रश्न आउन सक्छ । यो भोलि कोभिड १९ समाप्त भइसकेपछि अथवा नियन्त्रणमा आइसकेपछि असान्दर्भिक त हुँदैन ? कोभिड १९ नियन्त्रणमा आए पनि अक्सिजन उत्पादन असान्दर्भिक हुँदैन । जबकी अहिले नै हामीले दोस्रो लहरलाई तीन गुणाभन्दा बढीले घटाइसकेका छौं र यो ओरालो लाग्दो स्थितिमा छ । यदि सङ्क्रमणको स्थिति तीन हजारमा छ भने निको हुनेको क्रम छ हजारभन्दा बढी छ । अर्थात् संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या दुई गुणा बढी हुनुको अर्र्थ यो तीव्रताका साथ ओरालो लाग्दैछ । हामी छिट्टै यसलाई नियन्त्रण गर्न सक्छौं । यस सम्बन्धमा हामीले भ्याक्सिन ल्याउने प्रयास, म एउटा कुरा फेरि दोहो¥याउन चाहन्छु, हामी भ्याक्सिन उत्पादक होइनौं, तर दक्षिण एसियामा जहाँ उत्पादन हुन्छ भारतमा, भारतभन्दा पछि हामी दोस्रो हौं भ्याक्सिन शुरु गर्ने । अहिले विभिन्न मित्र राष्ट्रबाट, भारतबाट शुरुमा हामीले ल्यायौं र चीनबाट त्यसपछि ल्याइरहेका छौं, अरु पनि भ्याक्सिन ल्याउने काम अगाडि बढाइरहेका छौं । यो अत्यन्तै गम्भीर र संवेदनशील मानवीय प्रश्न हो । त्यसकारण मैले अन्तर्राष्ट्रिय समुदायलाई, उत्पादक कम्पनीलाई, सङ्घसंस्थालाई र विश्व स्वास्थ्य सङ्गठनलाई, विभिन्न देशका सरकारलाई र सरकारका जिम्मेवार व्यक्तित्वलाई यस सन्दर्भमा सहयोग गर्न अनुरोध गरेको छु । पहिले हामीले अक्सिजन कन्सन्टेटर वा अन्य उपकरणहरु अथवा अलिकति सहयोगी हुन्छन् कि भन्ने ठानिएका औषधिको अभाव नहोस्, सहज, सरल आपूर्ति होस् भन्नका लागि त्यस दिशामा काम ग¥यौं ।
अब अहिले हामी भ्याक्सिनमा केन्द्रित हुँदै गएका छौं र हामी लगभग यसवर्षभित्र भ्याक्सिन लगाइसक्छौं भन्ने मोटो अनुमानका साथ अगाडि बढिरहेका छौं । अहिले पनि भ्याक्सिन लगाउने काम जारी छ र अरु थप भ्याक्सिन हामी प्राप्त गर्ने प्रयास गरिरहेका छौं र अवश्य नै प्राप्त हुनेछ । यसको अर्थ कोभिड १९ अब नियन्त्रणतर्फ जान्छ । कोभिड १९ नियन्त्रणतर्फ जान्छ भने पनि अक्सिजन प्लान्ट असान्दर्भिक हुँदैन । एक त हामी कहाँ अस्पताल सुविधाहरु बढ्दै गएको छ र अक्सिजनको अभाव फेरि कहिल्यै हुन नदिने गरी हामी प्रयास गरिरहेका छौं । अक्सिजन दुई वा तीन मिनेट मात्र प्राप्त भएन भने मानिसको ज्यान जान सक्छ । त्यस्तो अत्यावश्यक र आकस्मिक उपचार पद्धति, उपचार विधि वा उपचार सामग्री, त्यसको कहिल्यै पनि कमी हुन नदिने, अभाव हुन नदिने व्यवस्था गर्नुपर्छ, त्यसतर्फ यस उद्योगले हामीलाई अझ सरल बनाउने छ ।
म भन्न चाहन्छु यस उद्योगबाट हामी आफूलाई चाहिएको भन्दा बढी खासगरी हाम्रा छिमेकी र त्यसमा भारतमा निर्यात गर्न सक्छौं र हाम्रो व्यापार असन्तुलनमा पनि यसले योगदान गर्नसक्छ । यस स्तरको अक्सिजन प्लान्टले उपचारमा मात्रै होइन, उद्योग, कलकारखानालगायत निर्माण कार्य सबैतिर मद्दत पु¥याउने छ । त्यस बाहेक छिमेकका आवश्यकताहरु समेत पूरा गर्नका लागि हामी निर्यात पनि गर्न सक्छौं । यसो भएर यसको बहुउद्देश्यीय, बहुआयामिक पक्ष छ । त्यसैले पछि कुनै समस्यामा पर्ला जस्तो मलाई लाग्दैन । किनभने यसले निर्यात गर्न सक्दछ । हाम्रो छिमेकमा त्यसको आवश्यकता छँदैछ । एक वर्षपछि पनि त्यसको आवश्यकता कम हुने होइन ।
अर्को हामी औद्योगीकरणतर्फ जाँदैछांै, आधुनिकीरणतर्फ जाँदैछौं । जब औद्योगिकीकरणतर्फ जाँदैछौं भने स्वाभाविक रुपमा औद्योगिकरणका लागि पनि यसको आवश्यकता छ, आधुनिकीकरण, औद्योगिकरणका लागि पनि यसको आवश्यकता छ । खालि अस्पताल र उपचारका लागि मात्रै होइन । यसर्थ आन्तरिक खपत पनि बढ्नेछ, बाह्य निर्यातका सम्भावना पनि हाम्रासामु छन् । जसलाई प्रयोग गरेर हामी मैले अघि नै भनेँ, व्यापार घाटालाई सन्तुलनतर्फ फर्काउने सानो भए पनि यसले योगदान गर्न सक्नेछ ।
तसर्थ यस घडीमा म खुशी व्यक्त गर्न चाहन्छु र शंकर अग्रवालजीलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु, बधाई भन्न चाहन्छु । यस प्रकारको यो पहिलो लिक्विड अक्सिजन प्लान्ट हामी स्थापना गर्दैछौं नेपालमा । यो एउटा नयाँ अभ्यास हो र नयाँ पाइला हो । यसले नेपाललाई फेरि एकस्तर अगाडि बढाएको छ । यसमा म सफलताको निम्ति शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ टुंग्याउँछु, धन्यवाद ।