फिचर | पढ्नै पर्ने |

प्यूठानमा बन्दै गरेको पक्की पुल भत्कियो

सलिम मियाँ
बिजुवार, असार ३ गते । झिमरुक नदीमा आएको बाढीका कारण निर्माणाधिन पक्की पुल भत्किएको छ । मुसलधारे वर्षापछि आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शीतगंगा नगरपालिका – ७ चिउरेखोला जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल भत्काएको हो ।

पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ’चार दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’

उहाँका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो । त्यसका १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो । सङ्घीय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।

भदौ महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बाढीले भत्काएको इन्जिनियर केसीले बताउनुभयो। आर्थिक बर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिँदै थियो। पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।