फिचर | पढ्नै पर्ने |

एउटा योजनाबाट दुई कामः एकातिर सिंचाइमा पानीको सदुपयोग, अर्कोतिर सुधारिएको घट्ट

राजन रावत
हुम्ला, असार ४ गते । खेर जाने मुहानको पानीलाई व्यवस्थापन गरेर एउटा योजनावाट दुई वटा कामसँगै शुरु भएका छन् । यसबाट एकातिर पानीको सदुपयोग भएको छ भने अर्कोतिर सुधारिएको घट्ट घुमेको छ भने खेती योग्य जमिन सिंचाइ  गर्न सहयोग पुगेको छ ।
एक पन्थ दुई काम भन्ने नेपाली उखान यतिखेर नाम्खा गाउँपालिका वडा नम्बर १ को धिंगामा एउटा योजनाबाट दुई वटा कामसँगै गर्न सफल भएको स्थानीय राव्देन लामाले बताउनुभयो । चार हजार आठ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर सुधारिएको घट्ट र सिंचाइ गर्न सफल भएको उहाँले बताउनुभयो । सिंचाई कुलो निर्माण भएर सञ्चालनमा आएपछि वर्षौदेखि आकासे पानीको भरमा खेतीपाती गर्दै आएकोमा अब सधै काम गर्न सहज भएको उहाँले बताउनुभयो । पानी नपरेका बेला बीउ छर्न पर्खनुपर्ने वा समय चुकेपछि अन्य बाली लगाउनुपर्ने बाध्यता पनि किसानलाई हटेको छ । सिंचाइ योजना सञ्चालनमा आएपछि अन्न्बाली उत्पादन राम्रो हुने धिंगा गाउँको तीन हेक्टर खेती योग्य जमिन सिचाई गर्न सहजता भएको उहाँले बताउनुभयो । यो गाउँमा उवा, जौ, कोदो, फापर, सिमि, आलु उत्पादन राम्रो हुने गर्छ ।
योजनाको नामै बहुउदेश्यीय राखिएको उक्त योजनाबाट सुधारिएको घट्ट पनि सञ्चालनमा आएको वडा अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । घट्टको सञ्चालनपछि डेढ घण्टा पैदल लाग्ने हेक्पा खोलामा परम्परा देखिका पानीघट्ट धाउनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । गाउँमै दैनिक तीन क्विन्टल पिस्ने सुधारिएको घट्ट निर्माण भएपछि स्थानीयका समय पनि बचत भएको छ । यस बहुउदेश्यीय योजनाबाट सिंचाइ र घट्ट पिस्ने काम सँगै सुरु भएको ग्रामीण जलस्राेत ब्यबस्थापन परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले बताउनुभयो । योजनाबाट चार हजार आठ सय मिटर पाइपलाइन, एउटा इन्टेक र सुधारिएको घट्ट निर्माण गरिएको छ । यसका लागि परियोजना, गाउँपालिका र स्थानीइ सेवाग्राहीको ६५ लाख ३९ हजार लागत साझेदारी रहेको उहाँले बताउनुभयो । मुख्यगरी सिंचाइबाट उत्पादनमा बृद्धि गर्नु र टाढाको घट्ट पिस्न लाग्ने समयलाई बतच गरे अन्य आयमूलक काममा स्थानीयलाई लगाउनु परियोजनाको उद्देश्य रहेको उहाँले बताउनुभयो ।