जाल छल्दै बगाले बगेडी
कृष्णप्रसाद भुसाल
गएको माघ महिनामा पूर्वी नेपालका सिमसार र त्यसआसपासका क्षेत्रमा बसाइँ–सराइ गरी आउने चराको अध्ययन अनुसन्धानमा संलग्न भएका थियाँै । अनुसन्धानको क्रममा एक दिन धनुषाको लालगढमा रहेको एक होटलमा खाना खान रोकियौँ । राजमार्गमा सञ्चालित होटलमा चरा र अन्य वन्यजन्तुको व्यापार कस्तो छ भन्ने थाहा पाउनु पनि हाम्रो उद्देश्य थियो । होटलमा बाहिरै झुन्ड्याइएको मेनु हे¥यौँ, जसमा लेखिएको थियो बगेडी रु. ४५० प्रतिप्लेट, बट्टाई ढुकुर रु. १३० प्रतिपिस ........आदि । मन चसक्क भयो । केही घण्टा त्यहीँ बस्ने निधो गरी सादा खाना खायाँै र त्यहाँको चहलपहल नियालिराख्यौँ । अधिकांश ग्राहक बगेडीको मासुमा आकर्षित देखिन्थे । यसबारे हामीले होटल सञ्चालकसँग छलफल पनि ग¥यौँ । सबैभन्दा दुःखको कुरा स्वयम् होटल सञ्चालक र ग्राहक पनि बगेडी चराको व्यापार गैरकानुनी र अवैधानिक हो भन्नेमा सचेत थिएनन् । सिमसार क्षेत्र आसपासका खेतबारी र उखुबारीमा समूहमा बस्ने यसप्रकारका बगेडी चरालाई जालको पासो थापी छोपेर बजारसम्म पु¥याउन जाडो मौसममा पेसेवर समूह नै सक्रिय हुने उनले बताए । पकाउन तयार गरिएका चराको मासु हे¥यौँ तर सिकारीले पहिला नै सबै भुत्लाएरमात्र पसलमा ल्याएको हुँदा कुन प्रजातिका हुन् भनेर यकिन गर्न सकेनौँ । केहीबेर सचेतना छलफल गरेर हामी त्यहाँबाट निस्कियाँै । यो त यउटा उदाहरणमात्र हो । पूर्वी नेपालमा पूर्व–पश्चिम राजमार्गका होटल, रेस्टुरेन्टमा बगेडीको मासु पाइन्छ लेखेका बोर्ड र सिङ्गो बगेडी चरा नै प्लेटमा राखेर खुलमखुला बेच्ने गरेको सहजै भेटिन्छ । भँगेरा आकारको शरीर हुने बगेडीको मासु खाँदा यौनशक्ति बढ्ने अन्धविश्वासका कारण बजारमा यसको माग बढ्दो छ । तर, यसको अवैधानिक चोरीसिकार रोक्न आवश्यक पहल भने कहीँ कतैबाट भएको छैन ।
यही व्यापारका कारण बगाले बगेडी लोप हुने अवस्थामा पुगेको छ । नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये सबैभन्दा अधिक सङ्कटमा नौ प्रजातिका चरा पर्छन् । जसमध्ये दुई प्रजाति त नेपालबाट लोप भइसकेका छन् । हाल जीवित रहेका अति सङ्कटापन्न सात प्रजातिमध्ये बगाले बगेडी पनि एक हो । यदि हामीले यसको संरक्षणमा अहिले नै ध्यान दिएनौँ भने आउँदो दस वर्षभित्र यसको लोप हुने सम्भावना ५० प्रतिशत छ । रङ्गीन र आकर्षक बगाले बगेडी जाडोयाममा उत्तरी देश रूस, मङ्गोलिया, चीनलगायत देशबाट बसाइँ–सराइ गरी नेपालमा आउँछन् । उत्तरी भूगोलमा प्रजनन गर्ने यी साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकतिर जाडो छल्न बसाइँ–सराइ गर्ने गर्छन् । तर विडम्बना, अनुकूल मौसम र चरनको खोजीमा निस्कने यी चरा मानवीय सिकारको जालोमा पर्छन् । करिब एक दशकअघिसम्म पनि यो चरा संसारभर र नेपालमा पनि बगालका बगाल देखिन्थे । त्यसैले यसको नाम नै बगाले बगेडी भएको हो । तर,, पछिल्लो दशकमा मात्र अत्यधिक सिकारका कारण ९० प्रतिशतभन्दा बढीले सङ्ख्या घटी यो चरा लोप हुने अवस्थामा पुगेको छ । बगाले बगेडीको सबैभन्दा बढी सिकार चीनमा हुन्छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको सिकार हुने गरेको छ । मानिसले आफ्नो स्वाद र प्रचलनका नाममा संसारबाटै यो प्रजाति नामेट पार्दै छन् ।
हाल नेपालमा अनुमानित सङ्ख्या २५० देखि दुई हजारसम्म गरिएको बगाले बगेडी गत हिउँदमा नेपालको १६ स्थानमा करिब आठ सयको सङ्ख्यामा मात्र अभिलेख गरिएको छ । काठमाडौँ उपत्यकामा करिब एक दशकपछि मनोहराखोलाकिनार र काभे्रको पनौतीमा बगाले बगेडीको सानो झुण्ड चरा अवलोकनकर्ताले भेटेका थिए । अप्रत्याशित रूपमा एउटा बगाले बगेडी पन्छीप्रेमी युविन श्रेष्ठले वैशाख अन्त्यतिर काठमाडौँको अनामनगरस्थित धोबिखोलाकिनारमा भेटेका थिए । सम्भवतः यी चरा आफ्नो ऐतिहासिक विचरण क्षेत्रको सम्झना र खोजीमा घना सहरमा आएका हुन सक्छन् । तर विडम्बना, यिनको बास हामीले कब्जा गरिसक्यौँ । त्यसैगरी मेचीनगर, कोसी, चितवन र पोखराका ताल, सिमसार क्षेत्रमा पनि बगाले बगेडी हिउँद बिताउन आएको पाइएको छ । पोखराको सिमसार क्षेत्रमा करिब पाँच सयको सङ्ख्यामा आएका बगाले बगेडीले हिउँद बिताई प्रजननका लागि वैशाख अन्तिमसम्ममा फर्किसकेको अनुसन्धानकर्ता मिलन बराल बताउँछन् ।
चोरीसिकारको अलवा बासस्थान विनाश र बसाइँ–सराइ गर्ने बाटोमा हुने प्रतिकूलताले पनि यस चरालाई सङ्कटमा पारिरहेको छ । यी आगन्तुक चराको आश्रयस्थल हाम्रा सिमसार र यससँग जोडिएका जमिन ध्माधम मासिँदै छन् भने कृषिमा पनि अनियन्त्रित र अव्यवस्थित रूपमा विषादी प्रयोग बढ्दो छ । यसको बहुआयामिक र दूरगामी असर यसप्रकारका पाहुना चरामा पनि परिरहेको छ । बसाइँ–सराइ गर्ने पाहुना चरा आफूलाई अनुकूल र सुरक्षित महसुस भएको ठाउँमा मात्र आश्रय लिन्छन् । त्यसैले पाहुना चराको आवागमन र बसाइको प्रवृत्तिले कुनै खास पर्यावरणीय संरचनामा आएको परिवर्तनलाई सङ्केत गर्छ । पछिल्ला दिनहरूमा सिमसारको सौन्दर्यीकरणको नाममा तालतलैयाभित्रका झारपात तथा बिरुवालाई सम्पूर्ण रूपमा निकाल्ने तथा पर्यटन प्रवद्र्धनका नाममा डुङ्गा सञ्चालन, सिमेन्टी पेटी बनाउनेलगायत अन्य भौतिक संरचनाको निर्माण र अनियन्त्रित वनभोजजस्ता पर्यावरण अमैत्री क्रियाकलाप सञ्चालनले व्यापकता पाएको छ । यसले सिमसारको गुणस्तर र आयुमात्र छोट्ट्याएको छैन, बगाले बगेडीजस्ता आगन्तुक चरालाई पनि विस्थापित गरेको छ ।
मध्य एसियाली उडानमार्ग भएर मङ्गोलियाबाट नेपालसम्म बसाइँ–सराइ गर्ने बगाले बगेडीजस्ता चराले खासमा यस क्षेत्रका हामी मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जैविक रूपमा जोडिरहेका छन् । करिब २० ग्राम तौल र चार वर्षमात्र आयु हुने यति सानो चराले बर्सेनि सिकारीको जालो छल्दै गर्ने हजारौँ किलोमिटर साहसिक र जोखिमपूर्ण यात्रा कम्ती प्रेरणादायक छैन ।
बसाइँ–सराइ गर्ने चरा र अन्य वन्यजन्तुको दिगो संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घको एक महासन्धि छ– ‘कन्भेन्सन अफ माइग्रेटरी स्पिसेज’ (सीएमएस) । यसमा बगाले बगेडीसहित नेपालमा पाइने ७५ प्रजातिका चरा पर्छन् । तर विडम्बना, सीएमएसमा १२८ मुलुकले हस्ताक्षर गरेर पक्ष मुलुक बने पनि नेपालले हस्ताक्षर गरेको छैन । नेपाल पनि बसाइँ–सराइ गर्ने चरा र वन्यजन्तुको बाटोमा पर्ने भएकाले उक्त महासन्धिमा हस्ताक्षर गरी यसप्रकारका दुर्लभ चरा र वन्यजन्तु जोगाउन वन तथा वातावरण मन्त्रालयले अग्रसरता लिनुपर्ने देखिन्छ । खासगरी ठूला जनावर गैँडा, बाघ, हाब्रे, सालकको चोरीसिकार नियन्त्रणमा नेपालले सफलता हात पारिरहेको भए पनि बगाले बगेडीजस्ता साना चराको व्यापार र सिकार नियन्त्रणमा कुनै ध्यान पुगेको देखिँदैन । खुलमखुला चरा छोपी बजारसम्म पु¥याउने र होटलमा पनि स्वतन्त्र रूपमा बेच्नु गैरकानुनी कार्य हो । यसर्थ, सम्बन्धित निकायले यसतर्फ पनि चासो दिनु जरुरी छ । संरक्षण संघ संस्थाले पनि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारसँग समन्वय तथा सहकार्यमा सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन जरुरी छ । यसको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय समन्वय र सहकार्य जरुरी छ । हाम्रो भ्रमपूर्ण स्वादले कतै एउटा सहजीवी यस संसारबाट लोप हुँदै त छैन, सबै सचेत बनौँ ।