कोरोना सङ्क्रमणबाट झापामा सुत्केरीको मृत्यु
विष्णु पोखरेल
दमक, असार १५ गते । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चुलाचुली ५ इलामकी ३१ वर्षीया महिलाले दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माउनुभएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि गएर असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा उपचाररत रहेको अवस्थामा मङ्गलबार महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारको क्रममा स्वास्थ्यमा सुधार आइरहेको थियो तर अचानक बिहानै उहाँको स्वास्थ्य अवस्था कमजोर बन्यो, उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ ।
सुत्केरी भएको एकसातापछि जाँचका लागि जाँदा कोरोना सङ्क्रमण भएको पुष्टि भएको रहेछ, उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले भन्नुभयो । बच्चाको भने अहिलेसम्म कोरोना जाँच नभएको बताइएको छ । पछिल्लो समयमा एन्टिजेनमार्फत जाँच गराएर मात्र गर्भवती महिलाहरुको अस्पतालले सुत्केरी गराउने गरेको बताइन्छ ।
झापाको दमकमा नीजि स्तरमा लाइफलाइन अस्पतालले ३० बेड क्षमताको कोभिड उपचार केन्द्र सञ्चालन गरेको छ । यहाँ झापाको दमकसहित बाहिरी जिल्लाका बिरामीहरु पनि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर सूर्यनारायण शाहले बताउनु भएको छ । अस्पतालको क्षमता र यहाँका स्वास्थ्यकर्मींहरुको अथक प्रयासबाट बचाउन खोजिएको हो तर सम्भव भएन, डा. शाहले भन्नुभयो ।
यसैबीच झापामा कोरोना संक्रमणबाट सोमबार बेलुका अबेरसम्मको विवरण अनुसार ३४६ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाको विवरण अनुसार झापामा ५७ हजार ७ सय १८ जनाको पिसिआर जाँच गर्दा १३ हजार ५ सय ५७ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।
यसमा दोस्राे लहरमा ८ हजार ९ ३४ जनामा पिसिआर पोजेटिभ र २ हजार २२ जनामा एन्टिजेन गरी १० हजार सय ५६ जनामा कोरोना सङ्क्रमण भएको पाईएको स्वास्थ्य कर्यालय झापाले एकदिन अघि सार्वजनिक गरेको विवरणमा उल्लेख छ । झापामा परीक्षण गरिएकाहरुमा कोरोना सङ्रक्रमणदर अहिले पनि उच्च छ । नियमित परीक्षणको नतिजा आँउदा परीक्षण गरिएकामध्ये ३० देखि ४० प्रतिशतसम्ममा कोरोना सङ्रक्रमण देखिएको पनि जनाइएको छ ।