फिचर | खुला |

बाढीपहिरो र डुबानमा परि ३४ को मृत्यु, ४४ घाइते, २४ जना वेपत्ता

गोरखापत्र अनलाइन

काठमाडौं, असार १८ गते । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, नौजना महिला, तीनजना बालक र तीनजना बालिका रहेको नेपाल प्रहरीले जारी गरेको तथ्याङ्का उल्लेख छ ।

तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पामा तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, छ जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा दश जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच/पाँच जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीन/तीन जना, जुम्ला र गोरखामा दुई/दुई जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एक/एक जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, छ जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका १ हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६ जना, चितवनमा ४०२ जना, सिन्धुपाल्चोकमा १२३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ/आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार/चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपछि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण ३९७ वटा घर डुबानमा परेका छन् । ४९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ४३ वटा घरका ४ हजार ९५५ जना मानिस विस्थापित भएका छन् भने ८०२ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा ३३० वटा विपद्का घटना भएको प्रहरीको बुलेटिनमा उल्लेख छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले काम गरिरहेको जनाएको छ ।