फिचर | पढ्नै पर्ने | प्रदेश |

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित

धनुषा, असार २३ गते । प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । 
 
बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो ।
 
प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले आज १ बजे बस्ने प्रदेशसभा बैठक यही असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले आज बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको बताउनुभयो । उहाँले प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न असार २४ गतेसम्म मात्रै हुने भएकाले समय व्यस्तताका कारण संसद् सचिवालयमा सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको जनाउनुभयो ।
 
असार १ गते अर्थमन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको प्रदेश सरकारको बजेटमाथि छलफल शुरु हुन सकेको छैन । प्रदेशसभा सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद् सचिवालयले बैठक पटकपटक स्थगित गर्दै आएको छ ।