भानुभक्तीय रामायण : दृष्टिविहीनलाई पनि
जयराज आचार्य
राष्ट्रिय, भाषिक, साहित्यिक, साँस्कृतिक सबै दृष्टिले भानुभक्त आचार्यको रामायणको नेपालमा ठूलो महŒव छ । विक्रम संवत् २००६ सालमै दार्जिलिङको चौरस्तामा उनको सालिक खडा गरिनु नेपालबाहिर पनि नेपाली जातिका लागि उनको महŒवको द्योतक थियो । त्यहाँ रहेको उनको सालिकमुनि ‘नेपाली जातीय कवि’ लेखिएको छ । नेपालमा राणा शासन हटेपछि शिक्षाको प्रसार बढ्यो र उनका विषयमा थप अध्ययन अनुसन्धान हुनु स्वाभाविक भयो । उनकाबारेमा दर्जनौँ किताब र सयौँ लेख छापिएका छन् । नेपालभित्र र बाहिर पनि स्कुल, कलेजका छात्रछात्रा उनकाबारेमा कविता, निबन्ध लेख्छन् । आज नेपाली धैरै देशमा विभिन्न साहित्यिक कार्यक्रम गरी भानुजयन्ती मनाउँछन् ।
धेरै वर्षअघि सरकारकै आर्थिक सहयोगमा भानुभक्तको जीवनमा आधारित सिनेमा बनेको थियो । त्यो अहिले युट्युबमा पनि हेर्न सकिन्छ । भानुभक्तको रामायणको महŒवलाई ध्यानमा राखेर म्युजिक नेपालले धेरै वर्षअघि सम्पूर्ण रामायणको वाचन गरेर टेप पनि बजारमा ल्याएको थियो । त्यसमा सयभन्दा बढी वाचकले श्लोक वाचन गरेका छन् । कतिको वाचन निकै श्रुतिमधुर छ तापनि सबैको भने उस्तै छैन । त्यसका केही अंश पनि युट्युबमा सुन्न सकिनेगरी उपलब्ध छन् ।
गत वर्ष सरू गुरागाईंको वाचन र मुरारी गुरागाईंको सङ्गीत संयोजनमा भानुभक्तको सातै काण्ड रामायण सार्वजनिक भयो । एकैजनाले सातै काण्ड पढेकोचाहिँ पहिलोपटक हो जस्तो लाग्छ । त्यसले ठूलो लोकप्रियता पनि पायो । भानुजयन्तीका दिन विमोचन गरिएको रामायणको बालकाण्ड युट्युबमा हेर्ने–सुन्नेको सङ्ख्या एक वर्ष पनि नपुग्दै साढे बाह्र लाख नाघिसकेको देखिन्छ । त्यसको मतलब, त्यो बालकाण्डमात्रै हरेक महिना एक लाखभन्दा बढी दर्शक–श्रोताले हेरे–सुनेका रहेछन् । सङ्ख्याको हिसाबले नेपाली छन्द कविता यति धरै लोकप्रिय भएको अरू भेटिन गाह्रो छ ।
वृद्धाश्रमका बूढाबूढी (युवकयुवती, सन्तान बिदेसिएकाले नेपालका हरेक घर आज वृद्धाश्रमजस्ता भएका)मा पनि यो रामायण वाचन अति लोकप्रिय भएको पाइन्छ । गृहिणी भान्सामा काम गर्दा आफ्ना मोबाइल फोनमा यही रामायण सुन्दै काम गरिरहेका दृश्य देखिन्छन् । त्यसैगरी, पाँच÷सात वर्षका बालबालिकाले पनि रामायण गाउन थालेको देखिन्छ, सुनिन्छ । खुसीको कुरा हो, अहिले एउटा साँस्कृतिक पुनर्जागरणको लहरजस्तै आएको छ ।
सबैभन्दा ठूलो कुरा त दृष्टिविहीनका लागि यो रामायण वाचन ठूलो उपहार भएको छ । कतिपय दृष्टिविहीनले झापा, विराटनगर, काठमाडौँ, चितवन आदि ठाउँबाट फोन गरेर गुरागाईं दम्पतीलाई कृतज्ञता व्यक्त गरेका छन् । एकजना दृष्टिविहीनको प्रतिक्रिया यस्तो थियो, ‘रामायण अति लोकप्रिय छ । तर, ब्रेललिपिमा छैन । हामी दृष्टिविहीनले कसरी पढ्ने ? अब बल्ल सुन्न पाएकोमा आभारी छौैँ ।’ अनि अर्को एकजना जन्मजात दृष्टिविहीनले त यसो भने रे, ‘मेरो जीवनकालमा रामायण पढ्न पाउँथेँ कि पाउँदिनथेँ, तपाईंले त मेरै लागि गाइदिनुभयो । चारपटक सुनेँ, अहिले पाँचौँपटक सुन्दै छु ।’
दृष्टिविहीनका लागि हाम्रो साहित्यको पढाइबारे सोचिएकै रहेनछजस्तो देखियो । तिनीहरूले पनि त भानुभक्त आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमेरे आदि मूर्धन्य कविका कृति सुन्न पाउनुपर्ने हो । शिक्षा र आत्मविकास दृष्टिविहीनको पनि मौलिक मानवअधिकार होइन र ? तर, त्यो राज्यको दृष्टि नपुगेको क्षेत्र रहेको छ नेपालमा । तिनको उपेक्षा गर्न कदापि हुन्न ।
दृष्टिविहीनमा झन् बढी ज्ञानको गहिराइ र स्मृतिशक्ति हुन सक्छ । नेपालका इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्ना महान् कृति दृष्टिविहीन भएपछि नै लेखेका थिए । सेक्सपियरपछिका सबैभन्दा ठूला अङ्ग्रेजी कवि जोन मिल्टनले पनि दृष्टिविहीन भएपछि नै आफ्नो अमर महाकाव्य प्याराडाइस लस्ट लेखेका थिए ।
ज्ञानका लागि आँखा चिम्लेर ध्यान गर्नुपर्छ । भनिन्छ, आँखा चिम्लेर एकछिन सोचौँ । दिव्य ज्ञानका लागि चर्मचक्षुभन्दा पनि मानसिक चक्षु खोलिनुपर्छ । योगीहरूले ध्यानावस्थित भएर परम ब्रह्मलाई मनका आँखाले देख्छन्– ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनः । महाकवि देवकोटाको शाकुन्तल महाकाव्य यसरी सुरु हुन्छ– चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ...।
दृष्टिविहीन भएर नै परम ज्ञान हासिल हुने कुरा एउटा बौद्ध जातक कथामा प्रतीकात्मक रूपले यसरी बताइएको छ । सम्राट अशोककी जेठी महारानीबाट जन्मेका छोराका आँखा अति नै राम्रा थिए । त्यसैले राजकुमारको नाम कुणाल राखिएको थियो (कुणाल भन्ने अति नै राम्रा आँखा भएको एउटा हिमाली चरो हुन्छ) । सारा युवती राजकुमार कुणालका आँखा देखेर मुग्ध हुन्थे । कुणाल बडो अनुशासित र शासक हुन योग्य राजकुमार थिए, लोकप्रिय पनि उत्तिकै । तर, कान्छी महारानी आफ्नो छोरालाई राजकुमार बनाउन चाहन्थिन् । त्यसकारण उनले सम्राटलाई थाहा नदिईकन एउटा कीर्ते लालमोहर बनाइन् र सोहीबमोजिम भारदारलाई राजकुमार कुणालको दुवै आँखा फुटाउन लगाइन् । तर, विनाअपराध त्यस्तो कठोर यातना सहनुपर्दा पनि कुणाल रिसाएनन् । उनले त आफूलाई धन्य सम्झे किनकि चर्मचक्षु फुटेपछि उनका लागि यस दुःखमय संसारको दृश्य बन्द भयो । उनको ज्ञानचक्षु खुल्यो र उनले बोधिसत्व प्राप्त गरे ।
आँखा देख्ने हामीहरू पनि ज्ञानका दृष्टिले दृष्टिविहीन नै हुन सक्छौँ । रामायणजस्तो कृतिले दृष्टियुक्त र दृष्टिविहीन हामी सबैको अन्तर्दृष्टि खुलाउनुपर्छ । भानुभक्तले पद्यमा रामायण बनाए भने चक्रपाणि चालिसेले गद्यमा सङ्क्षिप्त रामायण बनाइदिए र त्यसको सन्देशलाई यसरी लेखिदिए–
राज्यश्रीसुख भोगको समयमा छाडी अयोध्या पनि
जाई जंगलमा रुँदै उहिँ पनी कान्तावियोगी बनी ।
लाखौं कष्ट सहेर सागर तरी श्रीजानकी ल्याउनु
ल्याई फेरि जनापवादभयले त्यागी वियोगी हुनु ।।
यस्ता आपद राममा पनि परे प्रत्यक्ष नै देखियो
दुःखैको अखडा रहेछ बुझियो निःसार संसार यो ।
राखी धैर्य तसर्थ विज्ञ जनले थामी विपत्मा मन
आनन्दी रहनू प्रमत्त नहुनू यै भन्छ रामायण ।।