फिचर | शनिवार |

सहमति खोला (कथा)

विवश वस्ती

चौतारो छ । चौतारामाथि मध्याह्नको घाम उद्दिग्न मुद्रामा टोलाइरहेको छ । र, बिस्तारै पश्चिमी कुनातिर घामका निर्दिष्ट पदचिह्नहरू सोझिँदै पनि छ ।
‘‘यो चौतारा पनि अब त भत्किन थालेछ ।’’ थोत्रो र जीर्ण बन्दै गएको चौताराको सर्वाङ्ग नियाल्दै चन्द्रमानले भने । उनको छेउमै थिए– कटकबहादुर । केही बोलेनन् उनी । रहे चुपचाप । बरु बिंडी सल्काएर बुङ्बुङ्ती धुवाँ उडाएर चौताराको परिवृत्तलाई बिथोल्न उद्यत देखिन्थे ।
‘‘गाम्लेहरू अरू कुरामा चासो राख्छन् । यो एउटा चौतारा मर्मत गर्न ध्यान दिँदैनन् ।’’ चन्द्रमानले आज कुराकानीको नयाँ विषयवस्तु फेला पार्न सकेका थिएनन् र उनको विषयको केन्द्रबिन्दुमा थियो, त्यही चौतारा ।
‘‘अँ ।’’ कटकबहादुरले यति मात्र भने ।
‘‘ढुङ्गाहरू पनि खस्न थालेछन् । चाँडै नै मर्मत नगर्ने हो भने एक–दुई वर्षमा पूरै भत्किन्छ ।’’ चन्द्रमानको चिन्ता झनै गहिरिँदै गइरहेको थियो ।
कटकबहादुरको दृष्टिबिन्दु आफू विराजमान चौतारामा केन्द्रित थिएन । उनको दृष्टिले केही परको एउटा खोलालाई एकोहोरो नियालिरहेको थियो । परापूर्वकालदेखि प्रवाहमान खोलातिर । त्यही खोला नजिकैको डिलमा थियो, त्यो चौतारो । चलिरहन्थ्यो एक नासले हावा । गर्मी मौसममा त्यो चौतारा शीतल ग्रहण गर्नेहरूको चापले भरिन्थ्यो ।
चौतारोको विषय कुराकानीको कार्यसूचीबाट हट्यो । चन्द्रमानतिर सल्किइरहेको बिंडी दिँदै कटकबहादुरले नयाँ विषयवस्तुमा प्रवेश गर्न चाहे, ‘‘गाउँतिर त एउटा गाइँगुइँ चल्या छ नि ।’’
‘‘के गाइँगुइँ ?’’ चन्द्रमान चनाखो देखिए ।
‘‘त्यो खोलाको पानी त बाँध बनाएर पल्लो गाउँका मानिसहरूले लैजाने रे नि त ।’’
‘‘हो र ?’’
‘‘अँ, त्यस्तै कुरा चल्या छ । उनेरुले त ठेक्का पनि दिइसके रे ।’’ कटकबहादुरले पल्लो गाउँको पुछारतिर आँखा पु¥याउँदै भने । चन्द्रमानको अनुहार भने शान्त र क्लान्त, दुवै देखिए । चुप रहे, केहीबेर । बिंडीको अन्तिम सर्को तान्न थाले र भद्र तरिकाले खोक्न थाले ।
वारि बेल्टार, पारि भकुन्डे । बीचमा वर्षौंदेखि बगिरहेको छ– घाँगर खोला । हिउँद–वर्षा जहिले पनि आफ्नै सुर र लय समातेर बग्दै आइरहेको छ । वर्षात्मा अलि मात्तिन्छ । रिसाहा बिरालोझँैं छेउछाउका भित्ताहरूलाई कोपर्छ, केही ढिस्काहरू खसाल्छ । हिउँदमा भने ज्ञानी र ध्यानी देखिन्छ ।
‘‘अब तिनेरुले मात्र एकलौटी बाँध बाँधेर यो खोलाको पानी आफ्नोतिर लैजान पाउँदैनन् ।’’ चन्द्रमानले भने । चौताराको पीपलको हाँगा र पात छेडेर प्रवाहित घामका थोप्लाहरू उनको टाउको माथि फिजारिइरहेको थियो ।
‘‘किन र दाइ ?’’
‘‘पहिला पो त्यो गाउँ र हाम्रो गाउँ एउटै थियो । एउटै पञ्चायतमा पथ्र्यो । अब त त्यो गाउँ अर्कैतिर प¥यो, हाम्रो अर्कैतिर । यही खोला नै साँध हो । साँधको खोलामा त दुवै गाउँपालिकाकाको बराबरी हक लाग्छ अब । एउटाले मात्र एकलौटी गर्न पाउँदैैनन् । ।’’ चन्द्रमानले भने । उनी पुराना जमानाका मान्छे । पुरानो व्यवस्था भोगेको मान्छेझँै ‘पञ्चायत’ भन्न छाडेका छैनन् ।
‘‘हो, तपाईंको कुरा मनासिवै हो ।’’ कटकबहादुरले सही थप्दै भने र केही हड्बडाएजस्तो गर्दै र चौताराबाट उठ्दै भने, ‘‘साँच्ची म त दाउरा लिन पो हिँड्या थिँ त ।’’ दाइसँग कुरामा भुलेंँ । लौ दाइ हाम्रो पनि खेतहरू बाझै छन् । खोलाको पानी तिनेरूलाई मात्र लैजान दिनु हुँदैन ।’’
चन्द्रमान एक्लै रहे चौतारामा ।
०००
एक मध्याह्न । भकुन्डे गाउँको पुछारनेर करिब २०–२५ जना मानिसको कुँडुलो लागेको देखियो । त्यो हुल बिस्तारै तल्तिरको खोलानिर लम्किए ।
‘लौ बाँध बनाउने टोली आएजस्तो छ ।’’ बेल्टारका गाउँलेहरूबीच त्यसले सनसनी पैदा गरायो ।
‘‘हो, बाँधका लागि नापजाँच गर्ने टोली आउने कुरा त सुन्या थियौँ ।’’ अर्का गाउँलेले भने, ‘‘तिनेरूलाई बाँध बाँध्न दिनु हुँदैन । सबै गाउँलेलाई खबर गरौँ र रोक्न जाऔँ ।’’
एकाध मिनेटमा नै त्यो खबर बेल्टार गाउँभरि फैलियो । चौतारानिर ठूलो सङ्ख्यामा मानिस ओइरिए । करिब ३०–४० जना नै । सबै उत्तेजनाको मुद्रामा थिए र जुर्मुराएका थिए, उस्तै गरी । खोलाको मध्यबिन्दुमा केही मानिस फित्ता लिएर हिँडिरहेका थिए र उनीहरूले ठाउँ–ठाउँमा नाप्दै पनि थिए । ‘‘के गर्न लाग्या हो ?’’ चौताराको डिलबाट एकजना उँचो स्वर पार्दै कराए । कुनै आवाज आएन पारिबाट । ती मानिसले फेरि त्यही वाक्य दोहो¥याए, ‘‘के गर्न लाग्या हो, त्यहाँ ?’’
एकजनाले चौतारातिर आँखा घुमाए र हातले इशारा गर्दै भने, ‘‘बाँध बाँध्न लाग्या । त्यसको निम्ति सर्वे टोलीले नाप्न लाग्या ।’’
त्यो मानिसको बोली चुहिएसँगै चौताराको परिसरमा उभिएर तन्मयतापूर्वक खोलातिर हेरिरहेकाहरूका पाइला एक्कासि अगाडि बढ्यो । त्यही खोलातिर । खोलको बाँध बाँध्न लागेको ठाउँतिर । ठुलो सङ्ख्यामा मानिस ओइरिएको देखेर भकुन्डे गाउँका मानिस र सर्वे टोलीले आफ्ना काम स्थगित गरे र आफूतिर आइरहेको हुललाई व्यग्रतापूर्वक नियाल्न थाले । खोला बगिरहेको थियो, बीचमा । खोलाको आवाज त्यति प्रखर र शक्तिशाली थिएन ।
‘‘के गर्न लाग्नुभएको हो ?’’
‘‘ बाँध बाँध्न सर्वे गर्न लाग्या हौँ । ’’
‘‘तपाईंहरूले हामीलाई नसोधी किन बाँध बाँध्न लाग्नुभएको हो ?’’
‘‘आफ्नो खेतमा पानी लैजानका लागि किन तपाईंहरूलाई सोध्नु प¥यो ।’’
‘‘यो खोलामा तपाईंहरूले अब एकलौटी रूपमा बाँध बाँधेर पानी लैजान सक्नु हुन्न ।’’
‘‘ किन र ?’’
‘‘किनभने अब यो खोलाको पानी साझा हुन्छ । आधा–आधा । तपाईंहरूलाई आधा, हाम्लाई आधा । बाँध बाँध्न पाउनु हुन्न, आफूखुसी । हाम्रो पनि सहमति चाहिन्छ ।’’
‘‘कस्तो अचम्मको कुरा गर्नुहुन्छ ।’’
‘‘अचम्म–सचम्मको कुरा हैन । अब तपाईंहरूको गाउँपालिका अर्कै हो र हाम्रो अर्कै । यो खोला त दुवै गाउँपालिकाको सीमा हो । यो खोलाको पानीमा जति तपाईंहरूको अधिकार लाग्छ, हाम्रो पनि त्यति नै अधिकार लाग्छ ।’’
‘‘वाह, क्या गजबको कुरा ।’’
तन्किँदै गयो, सवाल–जवाफ । एक जना बुरुक्क उफ्रियो र खोला नाघेर पारी पुग्यो र पाखुरा सुर्किन थाल्यो, ‘‘तिमेरुले के ठान्या छौ, हाम्लाई ? अझै पनि पानी एकलौटी पार्न खोज्ने ? यत्रो फेरबदल आएको छ । तिमेरुमा भने हेपाहा प्रवृत्ति अझै गएन है ।’’
‘‘चुप लाग ।’’
‘‘किन चुप लाग्ने म ? तिमेरु चुप लाग न ।’’ उसले आफूलाई यति जोश र आवेगको बिन्दुमा उभ्याएर पाखुरा सुर्किएको थियो कि, शरीरको सम्पूर्ण ऊर्जा त्यही पाखुरामा सोहोरिएको प्रतीत हुन्थ्यो । बेल्टारका एकजना गाउँलेले भने सर्वे टोलीका एकजना मानिसले हातमा खेलाइरहेको फित्ता यति तीव्र गतिमा खोस्यो, त्यति तीव्र गतिमा त बाजले चल्लालाई पनि टिप्दैन ।
‘‘हामी यो बाँध बनाएरै छाड्छांैँ ।’’
‘‘हामी कुनै पनि हालतमा बनाउन दिन्नौँ ।’’ बेल्टारका एकजनाले दृढ हुँदै भन्यो, ‘‘तिमेरुले काम थाल्दा हामीचाहिँ हातमा दही जमाएर बस्छौँ होला ।’’घाँगर खोला निश्छल र सङ्लो आवरणमा बगिरहेको थियो । तर, त्यो परिवेशको माहोल भने पूरै धमिलिएको थियो । दुवै गाउँले संग्रामको मनस्थितिमा उभिएका थिए । कुनै पनि क्षण त्यो खोला कुरुक्षेत्रमा परिणत हुने पर्खाइमा अल्झिरहेको आभास मिल्थ्यो ।
तर त्यो मध्याह्न संग्राम ट¥यो । कुनै अप्रिय घटनाको सूत्रपात हुन पाएन ।
दुवै गाउँलेले पाखुरा सुर्किए । न पराजित, न विजयी भाव सँगालेर आ–आफ्नै गाउँको डगरमा पाइला नापे ।
०००
करिब एक महिनापछि । घाँगर खोला स्थानीय खोलामा मात्र परिचित भएन । न त बेल्टार र भकुन्डे गाउँको नाम पनि सीमित ठाउँमा मात्र सीमित रह्यो । त्यो खोला, ती गाउँहरू र स्थानीय जनता राष्ट्रिय स्तरको समाचारको विषय बनेको थियो । हरेकजसो समाचारपत्रले अग्रपृष्ठमा नै अघिल्लो दिनको घटनालाई प्राथमिकता दिएर छापेका थिए । अझ स्थानीय एफएमहरूले त उज्यालो भएर रातिसम्मै त्यो घटनालाई एकोहोरो रूपमा घन्काइरहेका थिए ।
समाचारमा लेखिएको थियो, ‘.....जिल्लाको दुई गाउँपालिकाका जनताबीच घाँगर खोलाको पानी बाँडफाँट गर्ने विषयमा झडप हुन पुगेको छ । उक्त झडपमा परी दर्जनौँ घाइते भएका छन् । केहीको अवस्था गम्भीर भएको हुँदा उनीहरूलाई उपचारका निम्ति हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । बेल्टार र भकुन्डे गाउँका जनताबीच जुनसुकै बेला झडप हुनसक्ने भएको हुँदा प्रहरी परिचालन गरिएको हो....।’
त्यो दिन घाँगर खोला रणमैदानमा परिणत हुन पुगेको थियो । भकुन्डे गाउँका मानिसले दोस्रो पटक सर्वे टोली निम्त्याएर सर्वे गर्न लागिरहेको थियो । त्यो बिहानको समय थियो । पुनः सर्वे टोली आएर नापजाँच गर्न लागेको खबर बेल्टारका बासिन्दाले तत्क्षण नै थाहा पाए । यस पटक त दुवै गाउँका मानिसहरूको सङ्ख्या अचाक्ली बढेको थियो ।
दुवै गाउँका बासिन्दा निःशस्त्र थिएनन्, यस पटक । सबैले घरेलु हतियारले आफूलाई सुसज्जित तुल्याएर खोलातिर लम्किएका थिए । दुवै गाउँले मुठभेटको मुडमा उभिएका थिए ।
‘‘हाम्रो सहमति बिना बाँध बाँध्ने काम नगर्नु भनेका हैनौँ ?’’
‘‘त्यस्तो सहमतिलाई गोली मारौँ ।’’
‘‘ए, गोली मार्ने ?’’
‘‘हो ।’’
यस पटक भने सवाल–जवाफले लामो समयसम्म तन्किने अवसर पाएन । दुवै पक्ष भीडन्तमा ओर्लिए । प्रारम्भमा खोलाका ढुङ्गाहरू उठाएर एक–अर्काले प्रहार गर्न थाले । केही समयसम्मै तन्कियो, यस्तो उपक्रम । ढुङ्गा हान्ने, छेल्ने र फेरि ढुङ्गा हान्ने क्रम–उपक्रमले व्यापकता पाउँदै गयो ।
ढुङ्गा हानाहानको दृश्यको पटाक्षेप भयो । नितान्त अर्कै, नयाँ दृश्य जन्मियो । त्यो नयाँ दृश्य भने नाटकको उत्कर्ष नै थियो । दुवैतिरका पात्र आफ्ना उत्कृष्ट अभिनय कला प्रदर्शन गर्न व्यग्र देखिन्थे । त्यो कला प्रदर्शनमा कोही पनि चुक्न तयार थिएनन् । दुवै पक्षले घरेलु हतियार प्रदर्शन गर्न थाले ।
त्यो दृश्य यति भयावह थियो– उनीहरू एउटा खोलाको पानी बाँडफाँट गर्ने विषयमा तनाव उत्पन्न हुँदाजस्तो जुधिरहेका थिएनन् । कुनै मध्यकालीन समयमा एउटा राज्य र अर्को राज्यबीच राज्य जित्ने लडाइँमा जुधेझैँं प्रतीत हुन्थ्यो ।
सिङ्गो खोला र बगरभरि सङ्ग्रामका विम्ब र धर्साहरूकोरिए । कसैका टाउको फुटे । कसैका हात–खुट्टा भाँच्चिए, मर्किए । कसैका अनुहारको भूगोल बि(ग्रिएको थियो । कोही कराउँदै थियो । कोही ठूलो आवाज निकालेर चिच्याउँदै थियो । त्यो दिनको सङ्ग्रामले राष्ट्रिय जीवनलाई नै स्पर्श गर्न पुग्यो । राजनीतिक दलहरूले पनि चासो लियो । संसद्मा हङ्गामा मच्चियो । अब घाँगर खोला एउटा सानो खोला, सीमित भूगोल हुँदै बग्ने खोलाको रूपमा मात्र रहेन ।
०००
‘‘अब घाँगर खोलाको पानी आधा–आधा बाँड्नू ।’’ दुवै गाउँपालिकाका प्रतिनिधिहरू सघन संवादमा उत्रिए । बाँध निर्माणको विवादले उग्र रूप लिएपछि त्यसको समाधान पर्गेल्ने उद्देश्यले दुवै गाउँपालिकाका प्रतिनिधि जुटेका थिए ।
‘‘कसरी पानीलाई आधा–आधा गर्न सकिन्छ ?’’ एकजनाले झिनो आपत्ति जनाउँदै भने, ‘‘के काँक्रा चिरेर आधा पा¥याजस्तो हो र ? पानीलाई कसरी नापेर आधा पार्ने ?’’
‘‘अब दुवै गाउँलेले गाउँमा लैजाने बाँध बनाउनुस् । त्यसरी बाँध बनाइसकेपछि पानीलाई आधा–आधा गरी बाँड्न सकिन्छ । अरू उपाय पनि छैन । तपाईंहरू एउटा सहमतिमा पुग्नुस् ।’’ एकजना प्रतिनिधिले उपाय सुल्झाउँदै भने ।
‘‘आधा–आधा चाहिँ कसरी गर्ने ?’’
‘‘ठ्याक्कै त कहाँ हुन्छ र पानीजस्तो कुरा ? एक–दुई थोपा एकातिर बढी जाला, एक–दुई थोपा अर्कोतिर बढी जाला । सुन तौलेजस्तो कहाँ बराबरी हुन्छ त ?’’ अर्का जनप्रतिनिधिले भने ।
‘‘तपाईंहरू एउटा सहमतिमा पुग्नुस् । सहमतिमा नपुगी कुनै उपाय होलाजस्तो लाग्दैन मलाई ।’’ अर्का प्रतिनिधिले दुवै गाउँका मानिसलाई सम्झाउने उद्देश्यले भने, ‘तपाईंहरूबीच सहमति हुनुपर्छ । हिजोसम्म कुनै विवाद थिएन । तर आज यो खोला नै दुवै गाउँपालिकाको सीमा निर्धारण भयो । सीमाको खोला, जङ्गलमा दुवै पालिकाको आधा–आधा हक लाग्ने भन्या छ । आफ्नो हक कसले छाड्छ र ? सहमति गर्नुस् ।’’
‘‘अब यो खोलाको नाम नै बदल्नु प¥यो ।’’ एकजनाले मन्द मुस्कान छर्दै भन्यो ।
‘‘किन फेर्नु ? यही नाम नै ठीक छ, घाँगर खोला । वर्षौंदेखि चल्दै आएको नाम । सबैको जिब्रोमा यही नाम नै बसेको छ ।’’ अर्का गाउँलेले सामान्य प्रतिवाद गर्दै भन्यो ।
‘‘अब यो खोलाको पानी दुवै गाउँले बाँडचुँड गर्ने कुरामा सहमति हुने कुरा उठिरहेको छ । अहिले जताततै सहमतिकै बोलवाला चलेको छ । हाम्ले पनि यो खोलाको नाम घाँगर हैन, सहमति खोला राखौँ ।’’ ती मान्छेले ओठमा लघु हाँसो उमार्दै भने र गाउँलेहरूको भीडतिर हे¥यो ।
त्यो वातावरण पूरै हाँसोले गुन्जायमान भयो । केही समय हाँसोको उत्पत्ति भइरह्यो, रोकिएन ।
माथि आकाशमा भने धमिलो आवरणमा अभिव्यक्त घामले बिस्तारै पश्चिमतिरको अग्लो डाँडातिर पाइला सोझ्याउँदै थियो ।