फिचर | पढ्नै पर्ने | प्रदेश |

विपद व्यवस्थापनमा बाँकेको पूर्व तयारीः १९ हेलिप्याड र दुई हजार पाँच सय बढी सुरक्षाकर्मी तयारी अवस्थामा

सिराज खान
नेपालगञ्ज, असार २७ गते । बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै प्रयाप्त तयारी गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले यस वर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
उहाँले जिल्लामा ७ वटा निकाय एवं सङ्घ संस्थामा विपद् उद्धार सामग्रीहरु राख्ने भण्डारण कक्ष रहेको जनाउँदै नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना गरेर गोदाममा ठूलो परिमाणमा विपद् उद्धार सामग्रीहरु राखिएको बताउनुभयो ।
सो गोदाममा गृह मन्त्रालय, केयर नेपाल र एक्शन एड नेपाल लगायतका संघसस्थाहरुले विभिन्न किसिमका २२ हजार सात सय ६९ थान सामग्रीहरु भण्डारण गरेर राखेको प्रजिअ गेलालले बताउनुभयो ।
विपद व्यवस्थापन समितिका अनुसार नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैह्र खाद्य सामग्री तयारी अवस्थामा रहेको छ भने नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्ट ट्रेडिङमा ३० हजार मेट्रिक टन नुन मौज्दात रहेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गंगापुरमा पनि १०० गैह्र खाद्य सामग्री मौज्दात रहेको छ ।

१९ वटा हेलिप्याड तयारी अवस्थामा
जिल्लाका ८ वटै स्थानीय तहमा १९ वटा हेलिप्याडहरु तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एक वटा हेलिप्याड  छन् । यसैगरी जिल्लामा १२ वटा रबरबोटहरु पनि तयारी अवस्थामा रहेको ज्ञवालीले बताउनुभयो ।

२५ सय जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा
बाँकेमा बाढी पीडितको उद्धारमा खटिनका लागि दुई हजार पाँच सय ५० जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालिमप्राप्त छन् । यस्तै नेपाल प्रहरीसँग १५ जना, सशस्त्र पहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालिम प्राप्त जनशक्ति मौजुद छन् ।
यसबाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके यूनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयार रहेको विपद् व्यवस्थापन समितिका सुचना अधिकृत ज्ञवालीले बताउनुभयो ।
उता, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यस वर्ष बाढीबाट २५ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ । त्यसमध्ये २० हजार आंशिक र ५ हजार घरपरिवार पूर्ण प्रभावित हुनसक्ने आकलन गरिएको छ । ५ हजार परिवार स्थायीरूपमा विस्थापित हुनसक्ने आकलन समितिको छ ।