फिचर | पढ्नै पर्ने | फोटो फिचर |

कर्णाली करिडोरको खुलालु, लैफु हुँदै सलिसल्ला सडक हस्तान्तरण (फोटो फिचर)

राजन रावत
हुम्ला, साउन १ गते । नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्य गरेको हो ।
नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य भएको जानकारी दिनुभयो । करिडोर अन्र्तगत सेनाको निर्माण कार्य जिम्मा रहेको काम पुरा भएपछि हस्तान्तरण गरिएको होे । प्रमुख कार्कीले कोरोनाको कारण निर्धारित समयमा काम सक्न केही ढिलाई भएको बताउदै सेनाले काम भने पुरा गरेको बताउनुभयो । हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तीथि चौरमा आयोजना गरिएको थियो । कर्णाली करिडोरको खुलालु, लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नु अघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाकातर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरणपछि सडकको जिम्मेवारी लिदै योजना प्रमुख लामाले अब सडकको पुर्ण रुपमा अपनत्व लिने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लको पनि उपस्थिती रहेको थियो ।
सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलो मिटर सडकको निर्माण कार्य पुरा गरेको हो । निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव चार किलो मिटर निर्माण भएको सडक पर्छ । कोरोनाको कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीय स्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । यसका लागि सबै तयारी भई सकेको जनाईएको थियो । खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ चैत्र ९ गतेबाट सालमा निर्माण कार्य सुरु गरेको थियो ।