फिचर | पढ्नै पर्ने |

५० लाखको लगानीमा कालिज पालन, दशैंमा हजार कालिज विक्री गर्ने लक्ष्य

सिराज खान
नेपालगञ्ज, साउन १० गते । खजुरा गाउँपालिका वडा न. ४ का दीपक पौडेलले ५० लाखको लगानीमा कालिज पालन शुरु गर्नुभएको छ । गत चैतमा खजुरा कृषि फार्म दर्ता गरी उहाँ व्यावसायिक कालिज चरा पालनमा लाग्नुभएको हो । उहाँले अस्ट्रेलियाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरींग गरी चल्ला निकाल्नुभएको हो । अहिले उहाँको फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् ।
दसैंसम्म हजारभन्दा बढी कालिज विक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन अहिले व्यस्त रहेको पौडेलले बताउनुभयो । त्यसो त उहाँले अहिले कालिजका चल्ला पनि विक्री गरिरहनुभएको छ ।
एक दिनको चल्लाको मूल्य १४ सय रुपियाँ पर्ने जनाउँदै उहाँले चल्ला लिन आउनेहरु पनि दिनदिनै बढ्दै गएको बताउनुभयो ।
खान लायक भइसकेको एउटा कालिज ३५ सय रुपियाँमा बिक्री भैरहेको जनाउँदै पौडेलले दसैसम्म हजारभन्दा धेरै खान लायक कालिज विक्रि गर्ने योजना रहेको बताउनुभयो ।
‘दशैं भन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्याधिक रहेको छ, खास गरेर चिसो मौसममा त कालिज खरिद गर्नेको लाम नै लाग्छ रे’—उहाँले भन्नुभयो, ‘सोही कारणले उत्पादन बढाउँदै लैजाने योजना पनि छ ।’
कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती जिल्लाको तापक्रम रहेको पौडेलको भनाइ छ । ‘३० डिग्री सेल्सियससम्ममा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि मैले सकेसम्म धेरै गर्मी नलागोस भन्ने व्यवस्था मिलाएको छु ।’ उहाँले भन्नुभयो ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तिलकवीर सुनारले मिहिनेत गरेर काम गरे जे पनि सम्भव हुँदोरहेछ भन्ने कुरा किसान पौडेलले प्रमाणित गरेको बताउनुभयो ।
उहाँले युवाहरुले आफ्नै माटो र धर्तीमा सुन फलाउन सक्छन्, भन्ने उदाहरण पौडेल बनेको पनि बताउनुभयो । वडा र गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिज पालनका लागि हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि वडा अध्यक्ष सुनारले जनाउनुभयो ।